न्यूज डेस्क | पुस ११, २०८१ बिहिबार
रौतहट। शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आक्रोशित बनेपछि रौतहटको गरुडा अशान्त बनेको छ गरुडा नगरपालिकाको कार्यालय र सवारी समेत भीडले तोडफोड गरेको छ ।
नगरपालिकाका मेयर कन्थमनी प्रसाद कलवारले पूर्वाग्रही दृष्टिकोण राखी शिक्षक शिवशंकर झाको सरुवा गरेको भन्दै नमुना माध्यमिक विद्यालय, गरुडाका विद्यार्थीहरु आक्रोशित भइ नगर कार्यपालिकाको कार्यालय तोडफोड गरेका हुन् । शिक्षक झालाई नगर प्रमुख कलवारको निर्देशनमा सोही पालिकाको महमदपुर माविमा सरुवा गरेपछि विद्यार्थीहरु तोडफोडमा उत्रिएका हुन् ।
ढुंगामुढाका क्रममा गरुडाका नगरप्रहरी रामनारायण साहको टाउको फुटेको छ । नगरपालिकाको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको छ भने कार्यालय अगाडि राखिएको नगरप्रमुख कलवार चढ्ने गाडीमा समेत आक्रोशित समुहले क्षति पुर्याएका छन् ।
मेयर कलवारले दम्भ देखाएर आफ्ना शिक्षकको बिना कारण सरुवा गरेको भन्दै आफूहरु प्रदर्शनमा उत्रनु परेको आन्दोलनमा सहभागी एक छात्रले बताए। उता मेयर कलवार सँग उक्त घटना बारे बुझ्न खोज्दा उनको सम्पर्क हुन सकेन।