न्यूज डेस्क | पुस २९, २०८१ सोमबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको १४ औं नगरसभाको हिउँदे अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।
नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न अधिवेशनले आर्थिक वर्ष ०८०/८१ सम्म कार्य सम्पन्न भई भुक्तानी हुन बाकी रहेको योजनाहरुको भुक्तानी गर्ने गरी चालु आर्थिक वर्षको बजेट मार्फत संशोधन गरेको छ ।
चन्द्रपुर नगरपालिकाको सोमबार सम्पन्न नगरसभाले नगरपालिकाका योजनाहरुको कार्य सम्पन्न भैसकेको तर भुक्तानी हुन बाकी रहेको उपभोक्ता समितिहरुको भुक्तानी गर्ने निर्णय र केही वडाहरुको योजनाको बजेट शिर्षक संशोधन गरेको नगरपालिकाका सामाजिक विकास अधिकृत मिश्रीलाल साहले जानकारी दिएका छन्।
नगरसभाले समानीकरण अनुदान , राजस्व बाँडफाँड लगायतको शीर्षकबाट प्राप्त हुने रकमबाट समेत भुक्तानी हुन बाकी रहेका उपभोक्ता समितिहरुको भुक्तानी गर्ने नगरसभाबाट सर्वसम्मत निर्णय भएको नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेले जानकारी दिएका छन् ।
नगरपालिकाको गत आर्थिक वर्षको आयोजनाको व्ययभार उच्च हुँदा नगरपालिकाका वडा स्तरीय र नगरस्तरीय योजनाको कार्य सम्पन्न गर्दा समेत भुक्तानी नपाउँदा उपभोक्ता समितिले ठूलो सास्ती भोग्नु परेको थियो। नगरसभाको यस निर्णयबाट भुक्तानी नपाएका उपभोक्ता समितिहरुलाई राहत मिल्ने भएको हो।
नगरसभाले यस आर्थिक वर्षको आयोजनाहरुको कार्यान्वयन भन्दापनि संचालित योजनाहरुको निरन्तरताको लागि जोड दिँदै बक्यौता भुक्तानीको लागि संशोधन गर्ने निर्णय गरेको नगर प्रमुख काफ्लेले बताए ।
कार्यपालिका र विभिन्न विषयगत समितिले गरेका निर्णयहरु पनि नगरसभाबाट अनुमोदन गरिएको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
नगरसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन माथि छलफल गर्दै स्वीकृत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए।