न्यूज डेस्क | माघ २, २०८१ बुधबार
मोरंग। नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबारे प्रश्न गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने क्रमलाई तीव्रता दिइएको छ । यसको पछिल्लो संस्करण उदयपुरका पुर्वउपाध्यक्ष तथा पूर्व प्रदेश सांसद विमल कार्की हुन् । अध्यक्ष ओलीको नाममा प्रश्न उठाएपछि कार्कीलाई ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको छ ।
व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा अध्यक्ष ओलीमाथि प्रश्न गरेका कारण एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
खतिवडाले यसअघि १६ मंसिरमा कार्कीसँग तीन दिनको समयसीमा राखेर फेसबुकमार्फत लगातार पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएकाले तपाईंलाई किन कारबाही नगर्ने भन्दै प्रष्टिकरण सोधेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कार्कीलाई जिम्मेवारीमुक्त गरिएको खतिवडाले बताए ।
कार्कीेले मिनबहादुरसँग जग्गा दान लिएको विषयमा नेताहरु भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि कारबाही गर्ने पार्टी निर्णयमा आपत्ति जाएका थिए ।
उनले नैतिकताका आधारमा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । ‘अध्यक्षज्यू, स्पष्टीकरण हामीलाई सोध्ने कि तपाईंले अब अदालतलाई दिने जवाफ चाहियो ? नैतिकता छ भने अध्यक्ष पदबाट राजीनामा दिनुहोस् ।
उनले ओलीको नागरिकताका विषयमा समेत प्रश्न गरेका छन् । ओली २०४८ र ०५१ को निर्वाचनमा खड्गप्रसाद ओलीका नामबाट निर्वाचित भएको र मनमोहन अधिकारी नेतृत्वको अल्मपत सरकारमा गृहमन्त्री हुँदा सोही नाम रहेको उनको तर्क छ । तर, अहिले कसरी उनको नाम केपी शर्मा ओली भयो भन्ने प्रश्न कार्कीले गरेका छन् ।