न्यूज डेस्क | माघ ५, २०८१ शनिबार

जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा भव्यताका साथ सम्पन्न भएको छ।उक्त क्याम्पस सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका संघीय सांसद देव प्रसाद तिमल्सिनाको उपस्थिति रहेको थियो ।


क्याम्पस सञ्चालक समितिका अध्यक्ष संजय कार्कीको सभा अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। क्याम्पस प्रमुख राजन श्रेष्ठले वार्षिक प्रतिवेदन २०८१ प्रस्तुत गर्दै शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय प्रगतिको विवरण प्रस्तुत गरे। जनज्योति बहुमुखी क्याम्पसले गुणस्तरीय शिक्षा प्रवाहमा उल्लेखनीय प्रगति गरेको समेत उनले बताएका छन् ।



उक्त क्याम्पसमा स्नातक तहमा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, र शिक्षाशास्त्र संकायसहित स्नातकोत्तर तहमा समाजशास्त्र र व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदै आएको छ। अध्ययनलाई प्रभावकारी बनाउन सेमेस्टर प्रणाली र योग्य प्राध्यापकहरूको व्यवस्था गरिएको बताइएको छ।



भौतिक पूर्वाधारका क्षेत्रमा १८ कोठे व्यवसायिक सटर भवन, सभा हल, कम्पाउण्ड वाल, चमेना गृह, र सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ। चन्द्रपुर नगरपालिकाको सहयोगमा थप भौतिक सुधार भएको जानकारी क्याम्पसले जनाएको छ।



क्याम्पसले विद्यार्थी शुल्क, विश्वविद्यालय अनुदान, र सटर भाडाबाट आय आर्जन गर्दै आएको छ। क्याम्पस खातामा हाल ३ करोड २० लाख नगद मौज्दात रहेको छ। आगामी दिनमा B.B.A., B.H.M., B.S.W., र B.C.A. जस्ता रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएको छ।

कार्यक्रमका प्रमुख अतिथि देव प्रसाद तिमल्सिनाले क्याम्पसको प्रगतिको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई सुदृढ बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक पत्रकार शिव पुरीले क्याम्पसले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रवाहमा खेलेको भूमिकाको प्रशंसा गर्दै आर्थिक पारदर्शिता र नेतृत्व क्षमतामा थप सुधार गर्नुपर्ने सुझाव दिए । प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज भट्टराई समिरले क्याम्पसको आगामी योजना पूरा गर्न प्रदेश सरकार र स्थानीय निकायबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा उत्कृष्ट प्राध्यापकको रूपमा मधुकर खड्का र उत्कृष्ट कर्मचारीको रूपमा आशिष कोइराला सम्मानित भएका छन् । यसैगरी भर्खरै निजामती सेवामा प्रवेश गरेका क्याम्पसका छात्र ज्ञानेन्द्र काफ्ले उत्कृष्ट विद्यार्थीको रूपमा सम्मानित भएका हुन । शनिबार आयोजित उक्त क्याम्पस सभामा अभिभावक, शिक्षक, कर्मचारी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सभाले क्याम्पसको शिक्षा र भौतिक पूर्वाधारलाई थप सशक्त बनाउन साझा प्रयास गर्ने प्रतिबद्धतासहित समापन गरेको छ।