न्यूज डेस्क | माघ ६, २०८१ आइतबार

दीपेन्द्र मिश्रा ' दिपु '


रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।



चन्द्रनिगाहपुर स्थित होटल आरोहीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा वर्तमान सरकारले ल्याएको सहकारी सम्बन्धी अध्यादेश र राष्ट्र बैंक द्वारा सहकारीलाई नियनम गर्न तर्जुमा गरिएको प्रस्तावित मस्यौदाको सम्बन्धमा संघ र प्रारम्भिक संस्था बीच आईतबार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।



संघका अध्यक्ष विभु कुमार पोखरेलको सभा अध्यक्ष्यतामा भएको अन्तर्क्रिया कार्यक्रममा जिल्लामा रहेका विभिन्न सहकारी संस्थाका सञ्चालक समितिका प्रतिनिधिहरू  तथा व्यवस्थापक हरुको उपस्थिती रहेको थियो ।



कार्यक्रममा बोल्दै नब विकास सहकारी संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले वर्तमान सरकारले सहकारी आन्दोलनलाई निस्तेज पार्ने उद्देश्यले अध्यादेश मार्फत लाद्न खोजिएको ऐनले समग्र सहकारीको उत्प्रेरणा माथि आघात पुगेको बताएका छन् ।

त्यसैगरी मूलघर कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र चौलागाईले संघीय सरकारले जारी गरेको सहकारी संस्था नियमन सम्बन्धी मस्यौदाले सहकारी संस्थाको खुट्टा  भाँच्ने गरी कानुन बनाउन खोजिएको भन्दै यस विरुद्ध सहकारीकर्मीहरु एक भई आन्दोलनमा उत्रिनु पर्ने बताए ।

विन्धवासिनी सहकारीका सञ्चालक आलोक कोइराला केही सहकारी संस्थाले आफ्नो क्षेत्र अधिकार भन्दा माथि उठेर बढी महत्वाकांक्षी बन्न खोज्दा समस्याग्रस्त हुनुपरेको बताए।  वर्तमान परिप्रेक्षमा सरकारले जारी गर्न लागेको नीति ठीक भएको समेत उनको तर्क रहेको थियो । सहकारी गाउँमा नभई सहर केन्द्रित भएको र एक सहकारीले अर्काको देखासिकी गर्ने परम्परा हावी भएको उनको कथन रहेको छ।

रौतहट बचत तथा ऋण सहकारी संघका महासचिव देव बहादुर सापकोटाले सञ्चालन गरेका उक्त कार्यक्रममा कार्यक्रम रौतहटका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।