न्यूज डेस्क | माघ ७, २०८१ सोमबार
रौतहट। चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुर बजारमा रहेको अरुण आयल स्टोर्स अगाडि गौर - चपुर सडक खण्डमा मोबाईल चोरी गरी लुटपाट गर्ने दुई अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
रातको समयमा माधवनारायण नगरपालिका - १, दिपही टोलका हेमचन्द्र राय यादव मोबाईलमा कुरा गरिरहेका बेला चन्द्रपुर - ४ पैनी टोल घर भएका किसन साहले पछाडिबाट आई यादवलाई हिर्काउँदै लछारपछार गरी मोबाईल समेत लुटेको प्रहरी स्रोतले बताएको छ।
उक्त लुटिएको मोबाईल साहले चन्द्रनिगागापुर बस्दै आएकी काली मनिसा भन्ने सोनाम साह कलवारलाई दिएका थिए। उक्त घटनाको सिसी टिभी फुटेज बाहिरिएपछि दुबै जना फरार भएका थिए।
रौतहट प्रहरीको सक्रिय अनुसन्धान पश्चात उनीहरूलाई मोबाईल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई सम्मानित अदालतबाट म्याद थप गरी चोरी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राज कुमार राईले बताए ।
डीएसपी राईले सर्वसाधारणलाई यस्ता घटनाबाट सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी दिन समेत आग्रह गरेका छन् ।