न्यूज डेस्क | माघ ९, २०८१ बुधबार
नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले मार्ग प्रशस्त नगरेको खण्डमा संसद् बहिस्कार गर्ने चेतावनी दिएका छन् । बुधबार समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र समितिका सभापति एउटै पार्टीको हुँदा स्वार्थ बाँझिएको समेत बताए । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर चर्को मूल्यवृद्धि गराएको उनको आरोप छ ।
‘सार्वजनिक लेखा समितिका सभापति पनि त्यही पार्टीको, हामीले भनिराखेका छौं । प्रधानमन्त्री पनि त्यही पार्टीको, कहीँ न कहीँ तारतम्य मिलेन । त्यही भएर हामीले मार्ग प्रशस्त गरेको राम्रो भनेर पटक–पटक भनेका छौं । त्यो हिजो पनि भन्यौं, भोलि पनि बोल्छौं । यदि यस्तै हो भने संसदसमेत बहिस्कारको स्थिति हुनसक्छ,’– उनले भने ।
लेखा समितिमा आज पछिल्लो समय निर्माण सामाग्री सिमेन्टको मूल्य वृद्धिको बारे छलफल भएको थियो । सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेसँगै उद्योगीहरुले ३६५ को पीपीसी सिमेन्टको बजार मूल्य बढाएर ६७० पुर्याएका थिए । त्यस्तै, ओपीसी सिमेन्टको मूल्य ४६५ बाट बढाएर ७५० पुर्याएका छन् ।