न्यूज डेस्क | माघ १२, २०८१ शनिबार
रौतहट। चन्द्रनिगाहपुर स्थित रहेको चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउस मापदण्ड विपरीत सञ्चालनमा ल्याइएको भन्दै शिल गरिएको छ। चन्द्रपुर नगर स्तरीय बाल सञ्जालका प्रतिनिधि, चन्द्रपुर नगरपालिकाको उपप्रमुख जयमाला चौधरी र चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा अनुगमन संयुक्त टोलीले अनुगमनको क्रममा सो स्केटिङ् पार्क दर्ता समेत नभई सञ्चालन भएको भन्दै शिल गरेको हो।
उक्त स्केटिङ् पार्क हाउसमा बाल श्रमिक राखेर मापदण्ड विपरीत सञ्चालन आएको भन्ने गुनासो आएपछि नगरपालिकाको टोलीले शनिबार अनुगमन गरेको वडा अध्यक्ष रवि राना मगरले बताए।
सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम रहेको उक्त स्केटिङ् पार्कमा केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको र सो घटनाको रगत अझ सम्म आलै रहनुले पनि उक्त स्केटिङ् पार्कले दुर्घटना निम्त्याउने खतरा रहेको समेत उपप्रमुख जयमाला चौधरीले बताइन्।
चन्द्रपुर ४ लें वडामा रहेका विभिन्न व्यवसायमा बालश्रम हुने गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्ने गुनासो बढेको कारण अनुगमनको कार्य लाई तिब्रता दिएको वडा अध्यक्ष राना मगरले बताए।
अनुगमनका क्रममा चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको उक्त स्केटिङ् हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास भने भेट हुन नसकेको र टेलिफोन संपर्क मार्फत उक्त घटनाको जानकारी गराउँदै नगरपालिका कार्यालयमा उपस्थित हुन समेत जानकारी गरिएको चन्द्रपुर नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाका प्रमुख चन्द्रकला बरालले जानकारी दिइन्।