न्यूज डेस्क | चैत २०, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् । बुधबार काठमाडौंमा शिक्षकहरूले गरेकाे आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरेकाे भन्दै उनले धन्यवाद दिएका हुन् ।
शिक्षकहरूलाई उनले यहि शिक्षा आफ्नो विद्यार्थीहरूलाई पनि दिन अनुराेध गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “प्रीय शिक्षकहरू, तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।”
आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गर्न उनकाे सल्लाह छ । उनले थप लेखेका छन्, “हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा । कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।”