न्यूज डेस्क | बैशाख ३, २०८२ बुधबार
रौतहट। नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटको आयोजनामा नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नयाँ वर्ष २०८२ सालको आगमन सँगै नेपाली कांग्रेसले पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरु समक्ष शुभकामना आदानप्रदान गर्ने उद्देश्यले जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ६ स्थित रहेको जीपी उधान डाबरीमा उक्त कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेसका महासमिति सदस्य मिथिलेश कुमार मिश्राले बताएका छन्।
मधेश प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति जितेन्द्र यादव सुनिलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस प्रति आस्थावान नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अघि बढ्न, नेपाली जनताको अधिकारलाई स्थापित गर्न गरेको विभिन्न आन्दोलनहरूको बारेमा स्मरण गराउँदै बलियो कांग्रेस निर्माणको लागि गुटबन्दी त्याग्न आवश्यक रहेको बताएका छन् । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त हुनेगरी कार्यकर्ता तहबाटै लाग्नुपर्ने समेत उनले बताए ।
नयाँ वर्षलाई नयाँ सोच र जाँगरका साथ पार्टी निर्माणको लागि लाग्न समेत कार्यकर्ताहरुलाई सुझाएका छन्। उनले आफू अर्थ मन्त्री भएपछि जिल्लाको विकासको लागि विभिन्न योजनाहरुमा बजेटको प्रभावकारी कार्यान्वयन गर्न समेत सफल भएको बताएका छन् ।
कार्यक्रमम नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४(१)का पूर्व प्रदेश सांसद् धनलाल ठोकर, महासमिति सदस्यहरु,महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्य समितिका सदस्यहरु, जिल्लाका अन्य पदाधिकारीहरु लगायत चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले, परोहा नगर पालिकाका प्रमुख शेख वकील, माधव नारायणका नगर प्रमुख बैजनाथ यादव, कटहरियाका नगर प्रमुख अजय प्रकाश जैसवाल, जिल्ला समन्वय समिति सदस्य राम आयोधी यादव लगायत नेपाली कांग्रेसका विभिन्न नेताहरुले कार्यक्रममा मन्तव्य राखेका थिए ।
कांग्रेस कार्यकर्ताको बाक्लो संख्यामा उपस्थित रहेको उक्त कार्यक्रम नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य श्यामहरी चौलागाईले सञ्चालन गरेका थिए।