न्यूज डेस्क | बैशाख २१, २०८२ आइतबार

नेपाल पत्रकार महासंघ रौतहट शाखाको आयोजनामा गौरमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ रौतहटका अधयक्ष सञ्जय कार्कीले गरेका थिए । 


 “नयाँ विश्वमा साहसी पत्रकारिता प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव” भन्ने नारासहित आयोजित कार्यक्रममा सञ्चारमाध्यमको वर्तमान अवस्था, पत्रकारितामा बढ्दो चुनौती र पत्रकारको सुरक्षा लगायतका विषयमा  संचारकर्मीहरुसँग गहन छलफल गरिएको थियो ।



 कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी गिरीले प्रेस स्वतन्त्रता कायम राख्न राज्य संयन्त्र प्रतिवद्ध रहेको बताउँदै निष्पक्ष र उत्तरदायी पत्रकारिताको आवश्यकता रहेको समेत औंल्याएका थिए । उनले पत्रकारमाथि हुने आक्रमण र दवाबलाई रोक्न प्रहरी प्रशासन गम्भीर रहेको समेत बताए । 



नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष कार्कीले रौतहटका पत्रकारहरू विभिन्न चुनौतीका बीच पनि सत्यतथ्य सूचना सम्प्रेषणमा समर्पित रहेको बताए । उनले प्रेस स्वतन्त्रतामाथि हुने प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका थिए । साथै उनले समाज परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य एवं कान्तिपुरका उपसम्पादक शिव पुरीले रौतहटका पत्रकारहरुले पत्रकारिताको आचारसंहिता भित्र रहेर काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।



कार्यक्रम महासंघका सचिव गौतम श्रेष्ठले  सञ्चालन गर्दै देशभरि भएको प्रेस स्वतन्त्रता हनन् बारे  बाहिर आएका घटनाबारे साझा गरेका थिए । कार्यक्रममा अन्य वक्ताहरुले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखेका थिए ।