न्यूज डेस्क | बैशाख २३, २०८२ मंगलबार
रौतहटको चन्द्रपुरमा सुरु भएको “जय नेपाल कप” क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सिन्धुरेघारी बहुमुखि क्याम्पसले बिजयी सुरुवात गरेको छ । आजबाट कोटिहोम खेल मैदानमा नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसको क्रिकेट टिम सहभागी छन् । आज भएको उद्घाटन खेलमा समुह बी अन्र्तगत लक्ष्मी श्री बहुमुखी क्याम्पस र सिन्दुरेघारी बहुमुखी क्याम्पस बिच सम्पन्न भएको थियो । लक्ष्मी श्री बहुमुखी क्याम्पसले २० ओभरमा ९३ रन बनाएको थियो भने सिन्दुरेघारी बहुमुखी क्याम्पसले १९ ओभर ३ बलमा टार्गेट पुरा गर्दै ५ बिकेटले जित हासिल गरेको आयोजक संस्थाका संयोजक श्यामहरी चौलागाईले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था पनि गरिएको कार्यक्रम संयोजक देवराज कार्कीले जानकारी दिएका छन् ।