न्यूज डेस्क | बैशाख २३, २०८२ मंगलबार
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले अहिलेको सरकार थुन्न र निकाल्नमै केन्द्रित रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राम्रा काम गरेर चिन्नमा यो सरकारमा पर्याप्त गाम्भीर्यता नभएको आरोप लगाएका हुन् ।
उनले भने, ‘सहकारीमा ८८ सय करोडको अपचलन भएको छ भने यही संसदीय समितिले भनेको छ । तर, आक्रोश सबै रवि लामिछाने थुन्ने, रवीन्द्र मिश्र थुन्ने, कुलमानलाई निकाल्ने । लेगेसीको चिन्ता भएको यो सरकारलाई रवि, रवीन्द्रलाई थुन्यो भनेर नै चिन्ने हो त ?’
उनले थपे, ‘आज हामी कृष्णप्रसाद भट्टराईलाई सम्झन्छौँ । सुशील कोइरालालाई सम्झन्छौँ । उहाँहरूले केही गर्नुभयो । बाटो बनाउनु भयो भनेर बाबुराम भट्टराईको नाम आउँछ । प्रचण्डको सरकारको पालामा भुटानी शरणार्थीको काण्डलाई एउटा विन्दुमा लगेको थियो भनेर सम्झिन्छौँ । तर, यो सरकारलाई रवि, रवीन्द्रलाई थुन्यो भनेर चिन्ने ?’
सरकारले गरेको राम्रा कामहरूको उजागर गर्दै नराम्राको विरोध गरिएको उनले बताए । डा. वाग्लेले भने, ‘हामीले सधैँ विरोधका लागि विरोध गर्ने होइन । हामीले रचनात्मक सुझाव दिँदै आएका छौँ । असल पक्षहरूलाई हामीले उजागर गर्दै आएका छौँ ।’