न्यूज डेस्क | बैशाख २४, २०८२ बुधबार
अर्जुन तिमल्सिना
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको नगर प्रमुख पदमा सञ्जय कुमार काफ्ले निर्वाचित भएसँगै चन्द्रपुर नगर नेतृत्वको सशक्त उदाहरण प्रस्तुत भएको छ। यद्यपि विगतमा वडा अध्यक्ष भएर स्थानीय सरकारको राम्रो अनुभव बटुल्न सफल भएतापनि युवा भएर १० वटै वडाका प्रतिनिधित्व गर्ने स्थानीय तहको नेतृत्व सम्हाल्नु चुनौतीपूर्ण थियो, मेयर काफ्लेले विकासलाई आफ्नो प्राथमिकता बनाउँदै समाजका हरेक वर्गलाई समेट्ने प्रयास गरेका छन्।
काफ्लेको कार्यकालमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रहरूमा उल्लेखनीय प्रगति भएको छ। विद्यालयहरूमा भौतिक संरचनाको सुधार, बालबालिकाको शिक्षामा पहुँच वृद्धि, खेलकुद, चन्द्रपुर सरकारी अस्पताल, स्वास्थ्य चौकीहरूको स्तरोन्नति, कृषकहरूलाई प्रविधियुक्त कृषि अभ्यासमा सहयोग तथा स्थानीय सडक, नाला, खानेपानी र बिजुली जस्ता पूर्वाधार विकासमा महत्वपूर्ण काम भएको मेयर काफ्लेले बताएका छन् ।
मेयर सञ्जय कुमार काफ्ले नेतृत्वले स्थानीय सरकारमा युवा सहभागिता मात्र होइन, प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सन्देश समेत दिएको छ। जनतासँग हरेक समस्यालाई सम्बोधन गर्न आफूले गरेको कार्यहरु एकपटक मनन गर्न समेत उनले आग्रह गरेका छन्।
प्राय सधैं कार्यालयमा भेट हुने गरेका नगरप्रमुख निरन्तर जनताको गुनासोलाई प्राथमिकताका साथ हेर्ने गर्छन । जनताको प्रतिनिधि भएपछि पार्टी भन्दा भातृत्व र भाइचाराको सम्बन्धमा जोड दिनुपर्छ भन्ने सिद्धान्त बोकेका उनी रौतहट जिल्लाकै सफल नगर प्रमुखको रूपमा समेत परिचित रहेका छन् ।