न्यूज डेस्क | बैशाख २४, २०८२ बुधबार

रौतहट। नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा चन्द्रपुर–८ बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाका विभिन्न क्याम्पस सहित ८ शैक्षिक संस्था सहभागी प्रतियोगितामा कटहरिया बहुमुखी क्याम्पसले पनि आफ्नो सहभागिता जनाएको छ ।


आज दिउँसो १ बजे कटहरिया बहुमुखी क्याम्पस र केवल रामसुरत क्याम्पस सिमराभवानीपुरबीच प्रतिस्पर्धा हुनेछ । आज कटहरिया बहुमुखी क्याम्पसको प्रांगणमा खेल प्रारम्भअघि एक सानो कार्यक्रमका बीच क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले खेलाडीहरूलाई पोशाक वितरण गर्दै शुभकामना व्यक्त गरेका छन् ।



“खेलकुद शारीरिक विकास मात्र होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकासको मूल आधार हो,” प्रमुख यादवले मन्तव्य दिँदै भने, “हामी हाम्रो क्याम्पसका खेलाडीहरूलाई पूर्ण समर्थन र हौसला दिन्छौं। यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई एकता र सहकार्य सिकाउने अवसर दिन्छ।”



उक्त कार्यक्रममा लेखा प्रमुख रामनिवास प्रसाद यादव र प्रधानाध्यापक जगरनाथ प्रसाद पटेलको पनि उपस्थिति रहेको थियो । प्रतियोगिता भरी विभिन्न क्याम्पसका टिमहरूबीच मैत्रीपूर्ण तर प्रतिस्पर्धात्मक खेल देखिने अपेक्षा गरिएको छ । क्याम्पस प्रमुख यादवले खेलाडीहरूलाई अनुशासन र खेल भावना कायम राखी उत्कृष्ट प्रदर्शन गर्न शुभकामना पनि व्यक्त गरेका छन् ।