न्यूज डेस्क | बैशाख २४, २०८२ बुधबार

नेपाली काङ्ग्रेस विद्यार्थी विभाग रौतहटद्वारा आयोजित जय नेपाल कप रौतहट जिल्ला अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तर्गत चन्द्रपुर ८ बेतौना स्थित कोटिहोम क्रिकेट मैदानमा सम्पन्न दोश्रो दिनको पहिलो खेल गौरीशंकर बहुमुखी क्याम्पस र मध्य रौतहट बहुमुखी क्याम्पस बिचमा सम्पन्न भएको छ।


टस गुमाएर ब्याटिङ गरेको मध्य रौतहट बहुमुखी क्याम्पसले  निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ४२ रन बनाउन सफल भएको थियो। जवाफी ब्याटिङमा उत्रेको गौरीशंकर बहुमुखी क्याम्पसले १९.५ ओभरमा १ सय १२ रन मात्रै जोड्न सफल भएको थियोे।  खेलमा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा ३० रनले विजयी भएको  थियो । उक्त खेलका प्लेयर अफ द म्याच मध्य रौतहट क्याम्पस गरुडाका नितेश यादव बनेका छन् उनले १५ बलमा १८ रन बनाउनुको साथै ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट प्राप्त गरेका थिए ।



दोस्रो खेल सुरत राम केवल बहुमुखी क्याम्पस गुजरा र कटहरीया बहुमुखी क्याम्पस कटहरिया बिचमा सम्पन्न भएको छ। टस  गुमाएर ब्याटिङमा उत्रेको सुरत राम केवल बहुमुखी क्याम्पस गुजराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभरमा कुल १ सय १४ रनको योगफल तयार पारेको थियोे भने १ सय १५ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको कटहरिया बहुमुखी क्याम्पस कटहरियाले ७ विकेटको क्षतिमा १८ ओभरमा लक्ष्य पूरा गर्दै ३ विकेटले विजयी भएको छ। दोस्रो खेलको प्लेयर अफ द म्याच कटहरिया बहुमुखी क्याम्पसका मुस्ताक अन्सारी भए । उनले ५१ बलमा ५ चौका सहित ४२ रन बनाएका थिए।