न्यूज डेस्क | बैशाख २५, २०८२ बिहिबार
नेपाल राष्ट्र बैंकमा बिहीबार गभर्नर नियुक्ति हुने चर्चा चलेसँगै बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । चैत २४ गते महाप्रसाद अधिकारीको पदावधि सकिएसँगै राष्ट्र बैंक गभर्नर बिहिन छ । कुनै तिलस्मी घटना भएन भने भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना छ ।
सम्भवतः राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले गभर्नरमा नियुक्ति पाउने छन् । राजनीतिक नेतृत्वले गभर्नरमा भट्टको नाममा सहमति गरिसकेको चर्चा चलेको छ । गभर्नर हुने पक्का भएपछि भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा डेपुटी गभर्नर नीलम ढुंगानाले स्वीकृत नगरेकाले अहिलेसम्म नियुक्ती रोकिएको हो ।
आफूभन्दा जुनियर कर्मचारीलाई गभर्नर बनाए आफू राष्ट्र बैंकमा नबस्ने हुँदा सरकारले योजना आयोगको सदस्य वा राजदूत बनाउनु पर्ने शर्त डेपुटी गभर्नर ढुंगानाको छ । यदि उनले नियुक्ती पाउने आश्वासन पाएमा भट्टको राजीनामा स्वीकृत गर्ने बुझिएको छ । गभर्नर नियुक्तिको लागी यसअघि नै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्भनर आफ्नो पार्टीको भागमा परेको बताईसकेका छन् । भट्टको राजीनामा स्वीकृत हुने र सम्भवतः भोलि बिहिबार बस्ने मन्त्रिपरिषद्ले भट्टलाई गभर्नरमा नियुक्ति गर्ने बुझिएको छ ।
गभर्नर नियुक्त हुने सूचना बाहिरिए सँगै झण्डै दूई महिनापछि सेयर बजार एकाएक ६२ अंकको उच्च बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो ।
आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब नाँघेको छ । तीन सय आठ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर ९९ हजार चीन सय पाँच पटक खरिदबिक्री हुँदा रू १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ बराबरको कारोबार भएको हो ।
राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिबाट सेयर बजार प्रभावित हुन्छ । राष्ट्र बैंकको नीतिले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने हुँदा सेयर बजारले को गभर्नर बन्छ र उसले कस्तो नीति लिन्छ भन्ने कुरा हेरिरहेको हुन्छ । सेयर बजारमैत्री गभर्नर भएमा लगानीकर्र्तालाई फाइदा हुने नीति राष्ट्र बैंकले लिने विश्वासमा सेयर बजारमा रौनक फर्किएको विश्लेषकहरुको भनाइ छ ।