न्यूज डेस्क | बैशाख २७, २०८२ शनिबार
राैतहट । गरुडा नगरपालिका दुधियाभार सशस्त्र बेस क्याम्पको सीमाक्षेत्रमा चिनी तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीमाथि स्थानीयको आक्रमण भएको छ। घटनामा दुवै तर्फका केही व्यक्ति घाइते भएका छन्।
बिहीबार साँझ सशस्त्र प्रहरी बलको टोली गस्ती सकेर क्याम्प फर्किंदै गर्दा, उनीहरूले चिनी लोड गरिएको एक मोटरसाइकल देखेपछि रोक्न संकेत गरेका थिए। तर, सो मोटरसाईकलका चालकले नरोकी भाग्न खोजेपछि सशस्त्र प्रहरीले पछ्याएको थियो। तेज गतिमा दौडिरहेको तस्करीको मोटरसाईकलले दायाँबाट आउँदै गरेको अर्को मोटरसाईकलका सँग ठोक्किँदा दुई जना सर्वसाधारण घाइते भएका छन्।
सशस्त्रको मोटरसाईकल पनि तीव्र गतिमा रहेकोले आकस्मिक ब्रेक हान्दा ब्रेक फेल भएको र प्रहरी सवार मोटरसाईकल पनि लडेको बताइएको छ। उक्त दुर्घटनामा सशस्त्र प्रहरीका जवानहरू समेत घाइते भए। घटनास्थल नजिकैको सार्वजनिक मोडमा आएको सवारी प्रयोग गरी सशस्त्र प्रहरीले घाइतेलाई अस्पताल पुर्याएको र त्यसको पुष्टि अस्पतालको सिसिटिभी फुटेजबाट समेत हुन सक्ने प्रहरी स्रोतले जनाएको छ।
घटनापछि सशस्त्रले क्याम्पमा जानकारी गराएपछि, सईको कमाण्डमा थप टोली पुगेको थियो। नेपाल प्रहरी पनि सोही समयमा घटनास्थलमा पुगेको थियो। तर, त्यहाँ पहिल्यै भीड जम्मा भइसकेको र भीडले प्रहरीमाथि लाठी र लौरो प्रयोग गरेर आक्रमण गरेको बताइएको छ। ज्यान जोगाउँदै सशस्त्र प्रहरीका जवानहरू कटहरिया इलाका प्रहरी कार्यालय तिर भाग्न बाध्य भएका थिए।
त्यसै क्रममा तस्कर भने स्थानीयको सहयोगमा चिनी लोड गरिएको मोटरसाईकल सहित फरार भएका छन्। स्थानिय स्रोतका अनुसार, सो तस्कर नियमित रूपमा नजिकैको किराना पसलहरूमा चिनी आपूर्ति गर्दै आएको र त्यसैले केही स्थानीयले दाेषी व्यक्ति लाई जोगाउन प्रहरीमाथि उल्टै आक्रमण गरेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। सशस्त्र प्रहरी घाइते अवस्थामा उपचारमा छन् भने तस्कर भने अझै फेला परेका छैनन्। सशस्त्र प्रहरी स्रोतका अनुसार, घटनाको सत्यतालाई तोडमोड गर्ने र तल्लो तहका सुरक्षाकर्मीलाई दोषारोपण गर्ने प्रयास भइरहेको छ, जसलाई निष्पक्ष अनुसन्धानले मात्र स्पष्ट पार्न सक्नेछ।