न्यूज डेस्क | बैशाख २८, २०८२ आइतबार
रौतहटको वनमा दैनिक सयौं काँचो रुख अवैध रुपमा कटान गरी तस्करी भइरहेको विरुद्धमा चुरे वनजंगल जोगाउ,मधेशलाई मरुभुमि हुन बाट बचाउ भने मुल नाराका साथ चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल रौतहटले शनिबार गरुडामा भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ।
भन्डाफोर कार्यक्रमका अभियन्ताहरुले रौतहटको वन तथा चुरे क्षेत्रलाई सखाप बनाउने काममा संबंधित निकायकै संलग्नता रहेको आरोप लगाउदै सो कार्य यथासिघ्र रोक्न माग गरेका छन् ।
अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले गत दुई महिनामा पाँच हजारभन्दा बढी रुख फँडानी भएको आरोप लगाएका छन् । गरुडामा आयोजित विरोध जुलुस प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय संयोजक यादवले रौतहटका डिएफओ, प्रदेशका वन मन्त्री र वन मन्त्रालयका सचिवको मिलोमतोमा रौतहटको वन सखाप भइरहेको गम्भीर दोषारोपण गरेका छन् ।
चन्द्रपुरको गैंडाटारमा पाँच बिगाहा क्षेत्रफलमा बन फँडानी गरेको र आफूले घटना सार्वजनिक गरेपछि ढाकछोप गर्न बैसाख महिनाको ४० डिग्री घाममा पनि वृक्षारोपण गरी हजारौँ बोटबिरुवाको हत्या गर्ने काम पनि गरेको आरोप यादवले लगाएका छन् ।
यादवले सिन्धुलीको मरिनबाट रौतहट चोचा र वृन्दावनको सब वन क्षेत्रमा मानिस ल्याएर बसाउने काम अवैध रुपमा वन प्रशासनको मिलोमतोमा भइरहेको आरोप पनि लगाएका छन् । यसै गरी डिएफओले आफ्नो छोरालाई नै वनको काठमा टेन्डर दिने गरेको आरोप लगाउँदै सप्तरीबाट वनमा लेबर ल्याएको कुराको पनि विरोध गरेका छन् ।
राष्ट्रिय संयोजक यादवले एक लाखभन्दा बढी क्युफिट काठको अवैध तरिकाले टेन्डर गरी करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको र लाखौँ रुपैया राजस्व घाटा गराएको आरोप डिभिजन बन कार्यालय रौतहटका प्रमुख डिएफओ हेमन्त साहमाथि लगाएका छन् ।
यादवले मधेश प्रदेशका वन मन्त्री त्रिभुवन साह र वन मन्त्रालयका सचिव उद्धव घिमिरेको संलग्नतामा नै रौतहटको वन क्षेत्र फँडानी भइरहेको आरोप लगाउँदै स्वतन्त्र छानबिन र अनुगमनका लागि चुनौती दिएका छन् ।
अभियानका जिल्ला सचिव रामानन्द माझीले संचालन गरेको कार्यक्रममा राजेश भन्डारी तथा अभियानी नन्दकिशोर रामले मन्तव्य व्यक्त गर्दै वन मन्त्री साह नै भूमाफिया भएको गम्भीर आरोप लगाएका छन् ।
कार्यक्रमको अध्यक्षता अभियानका रौतहट जिल्ला संयोजक अमिरी सहनीले गरेका थिए ।अभियानले गरूडा बजारको नगरपरिक्रमा गर्दै मुख्यमन्त्री सहित वनमन्त्री,सचिव,डिएफओको विरूद्वमा नारावाजी गरेका थिए । सो क्रममा उनीहरूको तस्बिर समेत जलाई अभियान्ताहरूले विरोध जनाएका थिए ।