न्यूज डेस्क | बैशाख २८, २०८२ आइतबार

रौतहट। बागमती नदीमा आउने बाढीको समस्याबाट पीडित स्थानीयको समस्यालाई रोकथाम गर्न भन्दै चन्द्रपुर नगरपालिका वडा नं एक स्थित बागमती नदी किनारमा गरिएको तटबन्धको कार्यमा विवाद सिर्जना भएपछि रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका सभापति, प्रहरी प्रमुखहरू र सञ्चारकर्मीको टोलीले शनिबार स्थलगत निरीक्षण गरेको छ।


बागमती नदी किनारमा गरिएको तटबन्धको कार्यमा विवाद सिर्जना भएपछि बिहीबारदेखि काम रोकिएपछि स्थानीय चिन्तित बनेका हुन् । निर्माणाधीन अवस्थामा रहेको तटबन्धले स्थानीयको नम्बरी खेत र घरमा समेत वर्षातमा पस्ने बाढीको जोखिम अन्त्य गर्ने भएको हुँदा निर्माण कार्य नरोक्न स्थानीयहरूले अनुरोध गरेका छन् ।



अनुगमनको क्रममा जिल्लाका विभिन्न निकायहरूबाट तटबन्ध निर्माणस्थल पुगेसँगै बाक्लो संख्यामा उपस्थित स्थानीयले प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का समक्ष आफूहरु बाढीको चपेटामा परेको विगत सुनाउँदै वडा अध्यक्ष बलराम राउतको अथक प्रयासबाट भएको तटबन्ध निर्माणको कार्य नरोक्न बिन्ती विनय गरेका छन् ।



अनुगमन पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवले नदी किनारमा गरिएको तटबन्धले विकासको प्रतिनिध्त्व गरेको बताएका छन् । नदी नियन्त्रण गर्न बनाइएको तटबन्धमा खासै समस्या नरहेको समेत सभापति यादवले बताएका छन् ।



मधेश प्रदेश सरकारको ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतको कार्यक्रम लागत एस्टिमेट अनुसार निर्माण भएरहेको उक्त तटबन्धले बागमती नदीमा आउने बहावका कारण हुने भु-क्षय रोकथाम सहित बस्तीलाई समेत संरक्षण पुग्ने चन्द्रपुर १ का स्थानीय श्रीराम न्यौपानेले बताए।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्काले विकास निर्माणको कार्य गर्दा वातावरणीय प्रभावको ख्याल राख्दै दीर्घकालीन र गुणस्तरीयतामा जोड दिन समेत सुझाएका छन्। उनका अनुसार डिभिजन बन् कार्यालय रौतहटको धारणा आएपछि उक्त तटबन्ध निर्माण जारी राख्ने नराख्ने बारे अन्तिम विषय टुंगो लाग्ने बताइएको छ।