न्यूज डेस्क | जेठ १, २०८२ बुधबार

रौतहट। पत्रकार फणिदेव महतको मंगलबार साँझ निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित महतको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
रौतहटको चन्द्रनिगाहपुर निवासी महत प्रेस चौतारी नेपाल मधेस प्रदेशका निवर्तमान अध्यक्ष थिए। सञ्चार क्षेत्रमा तीन दशकभन्दा लामो योगदान दिएका महत चन्द्रपुरस्थित रेडियो सुप्रिमका सञ्चालक तथा अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत थिए।
स्वास्थ्यमा समस्या देखिएपछि महतले लामो समयदेखि विभिन्न अस्पतालहरूमा उपचार गराउँदै आएका थिए। अन्ततः ब्रेन ट्युमरका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि काठमाडौंमा थप उपचारको क्रममा मंगलबार साँझ उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्।
सादा जीवन, सरल व्यवहार र निर्भीक पत्रकारिताका लागि चिनिने महतको निधनले मधेसको सञ्चार क्षेत्रले एक अनुभवी र प्रतिबद्ध व्यक्तित्व गुमाएको छ। पत्रकारिता क्षेत्रमा उनको योगदान सदैव स्मरणीय रहनेछ। पत्रकार महतका श्रीमति र दुई छोराहरु छन् ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चन्द्रनिगाहपुरस्थित उनको निवासमा राखिएको छ ।