न्यूज डेस्क | जेठ ३, २०८२ शुक्रबार

रौतहट। नेपाल सरकारका पूर्व ऊर्जा राज्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता सत्यनारायण भगत बीनले करिब आठ वर्षअघि मन्त्री पदबाट हटिसकेपछि पनि ‘ऊर्जा राज्यमन्त्री’को हैसियतमा सरकारी लेटरप्याड प्रयोग गरेको खुलासा भएपछि तीव्र आलोचना भइरहेको छ।


२०७३ साल साउन ३० गते ऊर्जा राज्यमन्त्रीमा नियुक्त भई २०७४ साल जेठ १७ गतेसम्म कार्यरत रहेका भगत बीनले हालै मधेश प्रदेश सरकारअन्तर्गतको अर्थ मन्त्रालयलाई पठाएको पत्रमा ‘ऊर्जा राज्यमन्त्री’ उल्लेख गर्दै विभिन्न योजना सिफारिस गरेका छन्।



२०८२ साल वैशाख ३१ गते लेखिएको उक्त पत्रमा उनले रौतहट जिल्लाका विभिन्न पालिकामा पर्ने विभिन्न पूर्वाधार योजनालाई प्राथमिकताका साथ समावेश गर्न अनुरोध गरेका छन्।



पत्रमा समावेश योजनाहरूमा बांध देखि सडक ढलान सम्मका योजनाहरू माग गरेका छन् । जसका लागि प्रत्येक योजनामा रु. ४५ लाखको दरले लगभग दुई दर्जन योजना माग गरिएको छ।



पत्रको शीर्षकमै ‘ऊर्जा राज्यमन्त्री’ उल्लेख गरिएको देखिएपछि सामाजिक सञ्जालमा यति वेला उनको तीव्र आलोचना भइरहेको छ।

भगत बीनले पूर्व छुटेको बताउँदै घटनालाई गम्भीर रूपमा नलिन आग्रह गरेका छन्। उनले भने, ‘लेटरप्याड लेख्दा 'पूर्व' राख्नुपर्ने ठाउँमा छुट भयो, कृपया यसलाई गम्भीर नबनाइदिनुहोस्।’ यद्यपि उनले सचिवालय भन्दै काठमाण्डौ कै ठेगाना र फोन नम्बर सोही लेटर प्याडमा समावेश गर्नुले भगतको ढाकछोप झन् उदाङ्गो भएको छ।

उनी आफ्नो प्रभाव र हैकम ऊर्जामन्त्री सरह हालसम्म पनि यथावत् रहेको झै देखाउन यस्ताखाले फण्डा गरी नै रहन्छन् ।

कानुनविद्हरूका अनुसार पदावधि समाप्त भइसकेपछि समेत सरकारी लेटरप्याडमा पुरानै पदको प्रयोग गर्नु मुलुकी अपराध संहिता, २०७४ अनुसार दुरुपयोगमा पर्ने र सोही अनुसार सजायको भागीदार हुने भन्दै उनलाई सरकारी कागजको किर्ते गर्दै दुरुपयोग गरेको भनी कारबाही गर्न चौतर्फी दबाब बढिरहेको छ।