न्यूज डेस्क | जेठ ६, २०८२ सोमबार
टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचार मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका मोहनबहादुर बस्नेत तामझामसहित सिन्धुपाल्चोक आएका छन् ।
प्रमुख अतिथि बनेर स्वास्थ्य चौकीदेखि खानेपानी उद्घाटनसम्मको कार्यक्रम लिएर आउने प्रचार प्रसार भएसँगै यहाँका अन्य दलहरू एमाले, माओवादी साथै गाउँपालिकाको अनुरोधलाई अटेर गर्दै शक्ति प्रदर्शनसहित बस्नेत जिल्ला आएका हुन् ।
मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजीसहित लिसंखुपाखर गाउँपालिका आएका बस्नेतले वडा नम्बर २ को निगाले नारगाउँ खानेपानी उद्घाटन गरेका छन् । २ नम्बर कांग्रेसले जितेको वडा हो । उनलाई कांग्रेस कार्यकर्ताले ‘मोहन बस्नेत(जिन्दावाद’ भन्दै विजयोत्सव मनाएजसरी स्कटिङ गरेर ल्याएका थिए ।
हिजोमात्र गाउँपालिकाका अध्यक्ष राजु लामाले विज्ञप्ति निकाल्दै भ्रष्टाचार मुद्दामा मुछिएर निलम्बनमा परेको साथै योजनाको लागि कुनै भूमिका नखेलेको व्यक्तिबाट उद्घाटन गर्न लागिएको भन्दै पालिकाको सहमतिबेगर उद्घाटन नगर्न र जनप्रतिनिधि तथा कर्मचारीलाई पनि उपस्थित नहुन भनेका थिए ।
अध्यक्ष लामाले पालिकाको असहमतिबीच बस्नेतले जबर्जस्ती उद्घाटन गरेको बताए । बस्नेतले सुनकोशी गाउँपालिका(२ ठोकर्पा स्वास्थ्य चौकी भवनको पनि भोलि उद्घाटनको तयारी गरेका छन् ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले पनि गाउँपालिकाको अनुमतिविना जबर्जस्ती उद्घाटन गरिए कानूनी, प्रशासनिक जटिलताको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले लिनुपर्ने लिखित चेतावनी दिएका छन् ।