न्यूज डेस्क | जेठ ६, २०८२ सोमबार
रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले विद्युत प्राधिकरण कार्यालय चन्द्रनिगाहपुरमा ज्ञापन पत्र बुझाएको छ।
देशको विभिन्न स्थानहरूमा पछिल्लो समय बढ्दो विद्युत आउने जाने समस्यालाई अघोषित लोड सेडिङको संज्ञा दिँदै उक्त लोड सेडिङ अन्त्य गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चन्द्रपुर नगर समितिले सोमबार प्राधिकरणका शाखा प्रमुख धीरेन्द्र यादव समक्ष ज्ञापन पत्र पेश गरेका हुन्।
रास्वपाका नगर सभापति उदय नारायण सापकोटा नेतृत्व टोलीले चन्द्रनिगाहपुर तल्लो बजारदेखि विद्युत प्राधिकरण सम्म नाराबाजी गर्दै लोडसेडिङ अन्त्य हुने अपेक्षा सहित ज्ञापनपत्र चन्द्रनिगापुर वितरण केन्द्र मार्फत प्रधान कार्यालयमा बुझाएका हुन । रास्वापाको यस कदमलाई सामान्य रुपमा नभई जन आक्रोशको झिल्कोको रुपमा बुझी समस्या समाधान गर्न समेत नगर सभापति सापकोटाले सुझाव दिएका छन्।
ज्ञापन पत्रमा भनिएको छ “विगतमा १८ घण्टा सम्मको लामो लोडसेडिङ तालिका भोग्दै आएका हामी नेपालीहरुले आदरणीय व्यक्तित्व श्री कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको एम. डी. को रुपमा राखे पश्चात बिस्तारै लोडसेडिङ्ग तालिका घट्दै घट्दै लोडसेडिङ्ग तालिका नै देख्न छाडेको पनि लामो समय भइसकेको छ । वहाँको अधिल्लो कार्यकाल देखि नै हामी नेपालीहरुले निरन्तर निर्वाध रुपमा बिजुलीको उपयोग गरिरहन पायौं, सायद त्यसैले होला आम नेपाली जनताले कुलमान घिसिङ्गलाई उज्यालो नेपालका नायक स्वीकार गरेर जन पदवी नै दिए "उज्यालो नेपालका नायक" । नेपालीहरुको विद्युत लोडसेडिङ्गको समस्या समाधान गरेर विद्युत प्राधिकरणलाई पनि नाफामा लगेर सिङ्गो देशलाई नै गुण लगाएका उज्यालो नेपालका नायक कुलमान घिसिङलाई केही महिना मात्र कार्यकाल बाँकी रहेका बेला अपमानित शैलीले पदबाट बर्खास्ती गरे देखि नै नेपाल भर अघोषित लोडसेडिङ्गको शुभारम्भ भएको अनुभूति हामी चन्द्रपुर बासीले मात्र नभएर सिड्रो देशले गरिरहेको छ ।
यसरी भईरहेको अघोषित लोडसेडिङ्गको कारण झ्याप्प झ्याप्प बिजुली काटिदा र अप डाउन बिजुली आउँदा हाम्रा घर/उद्योगमा जडित चिम, पंखा, मोटर, कम्प्यूटर लगायत विभिन्न विद्युतीय उपकरणहरु बिग्रिएर ठूलो धनराशिको नोक्सान व्यहोर्नु परेको छ। यसरी हुने नोक्शान देशभरिमा निकै ठूलो अंकमा होला। पछिल्लो पुस्ताले नै सुन्न नपरेको यो लोडसेडिङ्ग भन्ने शब्दले आजकल हामीलाई भुतले तर्साए झै गरी तर्साएको महशुश हुन थालेको छ । चन्द्रपुरमा मात्र नभएर सिङ्गो देश भरिनै यसरी अघोषित लोडसेडिङ्ग किन, कस कसका, के के स्वार्थ सिद्ध गर्नका लागि गरिएको छ ? भन्ने प्रश्न हाम्रो मात्र हैन, आम नेपालीको प्रश्न हो । कतै इन्भर्टर, जेनेटर, ब्याट्री लगायत वैकल्पिक ऊर्जाका उत्पादक/ सप्लायर्सहरु सँग कमिशन असुल गर्ने चक्करमा यो अघोषित लोडसेडिङ भइरहेको त छैन ? भन्ने प्रश्न आज हरेक नेपालीको मनमा उब्जिएको छ। यस्ता यावत शंका उपशंकालाई गलत सावित गर्न सक्ने गरी निरन्तर निर्वाध रुपमा पूर्ववत विद्युत प्रवाह गरी प्राधिकरणलाई मुनाफाको उच्च बिन्दुमा पुर्याएको हेर्न चाहान्छौ हामी आम नेपाली। महोदय यस्ता बेला बखत आउने हावाहुरी, पानी वर्षा पहिले पनि आईरहेका थिए, त्यसको कारण यस्तो शास्ती खेप्नु परेको थिएन् त्यस बेला तुरन्तै एक्सनमा काम हुन्थ्यो र बिजुली आई हाल्थ्यो, यस्तो भयप्प झ्याप्प हुन्थेन । त्यसैले नेपाल विद्युत प्राधिकरणका वर्तमान एम. डी. ले आम नेपालीले पूर्ववत रुपमा बिजुलीको उपभोग गर्न पाउने गरी यो अघोषित लोडसेडिङ अन्त्य गरी विगत भन्दा पनि राम्ररी विद्युत उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्दै विद्युत प्राधिकरणलाई निरन्तर मुनाफामा पुर्याएर हामीले हर क्षण सम्झिरहेका कुलमान घिसिङ लाई बिर्सायर वर्तमान एम. डी. को नाम जनजिब्रोमा मिठो शब्दमा स्थापित गराउनुहुनेछ भन्ने अपेक्षा सहित यो ज्ञापन पत्र चन्द्रनिगापुर वितरण केन्द्र मार्फत प्रधान कार्यालयमा बुझाएका छौं । यसलाई सामान्य रुपमा हैन जन आक्रोशको झिल्कोको रुपमा बुझी समस्या समाधान गर्न लाग्नुहोला, अन्यथा नेपाली जनता अब धेरै सहेर बस्न सक्दैनन् । विद्युत महशुल बुझाउन एक महिना ढिला हुँदा २५ प्रतिशत मीटर व्याजी जरिवाना लगाउने विद्युत प्राधिकरणले तुरन्त यो अघोषित लोडसेडिङ्ग बन्द गरेर जनभावना अनुरुप कार्य गर्ने सदबुद्धि आओस, भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछौं । नेपाल विद्युत प्राधिकरणले हामी चन्द्रपुर बासी मात्र हैन तमाम देश बासी जनतालाई आन्दोलनका थप तालिका सार्वजनिक गरी सडकमा उत्रन बाध्य नपारोस भन्दै यो ज्ञापन पत्र बुझाएका छौं । “
सभापति सापकोटा द्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा गृह मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय काठमाण्डौलाई समेत बोधार्थ लेखिएको रास्वपा चन्द्रपुर नगर समितिले जनाएको छ ।