न्यूज डेस्क | जेठ ८, २०८२ बुधबार

नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक र नेमप्लेट प्रहार गरेकी छन् ।


सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेकी हुन् ।



सभापति साहका अनुसार समिति बैठकमा कुसारी ढिला पुगेकी थिइन् । ढिलोगरी बैठककक्षमा पुगेकी उनले अनुमति नपाइ बोल्न थालेपछि सभापति साहले रोक्न खोजेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो ।



‘माननीयज्यू ढिलो आउनुभयो । आफू ढिलो आएर अनुमतिबिनै बोल्न थालेपछि मैले तपाईंलाई बोल्न अनुमति छैन भनेको मात्रै के थिएँ म भएकोतिर माइक फाल्नुभयो,’ साहले भने, ‘माइक म भएतिर आएन सांसदहरू भएतिर गयो ।’



आजको बैठक महिला बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ ।

विवादकैबीच कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाइन् । उनले सभापति साह सधैँ आफैँ संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाइन् ।

अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन् । उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन् ।

‘मैले माइक र नेमप्लेटले हानेको हो, लागेन, भनाभन भयो’, कुसारीले भनिन्, ‘बैठकमा भएको भनाभनपछि सभामुखले बोलाउनुभएको छ । अब कि म त्यो समितिमा बस्दिनँ कि सभापति हटाउनुपर्छ ।’