न्यूज डेस्क | जेठ ८, २०८२ बुधबार

बारा। सिमरा विमानस्थलबाट उपचारको लागि काठमाडौँ जादै गरेकी एक महिलाको मृत्यु भएको छ ।


मंगलबार ४ बजेको उडानमार्फत उपचारको लागि काठमाडौँ जादै गरेकी रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ११ बस्ने  ३९ वर्षीया राजुकुमारी चौधरीको मृत्यु भएको बुद्ध एयर सिमरा शाखाका प्रमुख सुरेश रेग्मीले जानकारी दिए।
चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ लैजाने क्रममा विमान मै केही समय फोटो खिचेको र त्यसपछि काठमाडौँ पुग्ने क्रममै असजिलो भएको प्रमुख रेग्मीले बताए।



काठमाडौं पुग्दासम्म अचेत भईसकेकी चौधरीको सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।



प्रमुख रेग्मीले भने, “उनी उपचारको लागि काठमाडौँ जादै थिईन्। हामीले डकुमेन्ट पनि हेर्यौ। वीरगन्जको कुनै अस्पतालको डकुमेन्ट हेराउनु भएको थियो। हामीले उनलाई विमानमा हुने कुनै क्षतिको जिम्मेवार कम्पनी नहुने एग्रिमेन्ट गराएरै चढाएका थियौं।”



मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ भने सो घटनाको बारेमा प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।