न्यूज डेस्क | जेठ ८, २०८२ बुधबार

धनुषा। सडक निर्माण गर्न खनिएको खाल्डोको पानीमा डुबेर धनुषामा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार डुबेर मृत्यु भएका दुबै बालक एकै परिवारका हुन् । 


धनुषाको पूर्वोत्तर कमला नगरपालिका–२ सराबेका ७ वर्षीय रितिक साह र ५ वर्षिय रितिश साहको मंगलबार डुबेर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । रितिक रामबाबु साहका छोरा हुन् भने रितिश श्यामबाबु साहका छोरा हुन् । रामबाबु र श्यामबाबु भने दाजुभाइ हुन् ।



कृषि सडकका लागि ताछिएको माटोका कारण बनेको खाल्डोमा पानी जमेको थियो । घरबाट खेल्दै निस्केका रितिश र रितिश त्यही खाल्डोमा डुबेका थिए । १५ दिनअघि मात्रै खनिएको खाल्डोमा लगातार परिरहेको पानीले डुबान थियो । अबेरसम्म पनि उनीहरु घर नफर्किएपछि खोजतलास गर्दा खाल्डोमा डुबेको अवस्थामा भेटिएका हुन् ।



गर्मी र वर्षायाममा मधेशमा डुबेर मृत्यु हुने बालबालिकाको संख्या उच्च छ । आर्थिक वर्ष ०८१/०८२ को दुई महिना गत साउन र भदौमा मात्रै मधेश प्रदेशका ८ वटै जिल्लामा ३९ जना बालबालिका र १० जना महिला–पुरुषको डुबेर मृत्यु भएको थियो । ०८०/०८१ मा मधेश प्रदेशमा डुबेर १८५ जनाको मृत्यु भएको थियो ।



मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार त्यसमा १२४ जना बालबालिकाको मृत्यु भएको छ । त्यो अवधिमा ४७ जना पुरुष र १४ जना महिलाको डुबेर मृत्यु भएको छ । ०७९/०८० मा मधेशमा डुबेर १५५ जनाको मृत्यु भएको थियो । जसमध्ये ४८ जना बालक, ३३ बालिका, ६२ पुरूष र १२ महिला छन् ।