न्यूज डेस्क | जेठ १३, २०८२ सोमबार
रौतहट – चन्द्रपुर नगरपालिकाको स्तरीय अनुगमन टोलीले चन्द्रनिगाहपुर बजार क्षेत्रमा आईतबार व्यापक बजार अनुगमन गरेको छ। अनुगमनको क्रममा मुन ड्रोप्स पानी उद्योग, कोल्ड ड्रिंक्स डिलरहरु (कोक तथा पेप्सी) तथा स्थानीय होटलहरूमा गरिएको निरीक्षणमा केही स्थानहरूमा अखाद्य तथा म्याद समाप्त भएका खाद्य सामग्री फेला परेपछि ती सामग्रीहरू नष्ट गरिएको जनाइएको छ।
नगरपालिकाको प्रमुख सञ्जय कुमार काफ्लेको पहलमा गरिएको उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय मलंगवाका प्रतिनिधि, प्रहरी प्रशासन तथा स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। टोलीले बजारमा स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै उपभोक्ताहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले अनुगमनलाई तीव्र बनाइएको जनाएको छ।
चन्द्रपुर नगरपालिकाका शाखा अधिकृत चन्द्रकला बरालले बजारमा म्याद गुज्रिएका तथा स्वास्थ्यमा हानी पुर्याउने खाद्य वस्तुहरू बिक्री वितरण नगर्न व्यवसायीहरूलाई आग्रह गर्दै यस्तो कार्यमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिएकी छन्।
नगर स्तरीय अनुगमन समितिको संयोजक समेत रहेकी चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला कुमारी चौधरीले अनुगमनको क्रममा देखिएका कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्दै जान व्यवसायीहरूलाई आग्रह गरिन्। “नगरपालिका व्यवसायीहरूसँग सहकार्य गर्दै सुरक्षित र गुणस्तरीय खाद्य सेवा सुनिश्चित गर्न तत्पर छ,” उपप्रमुख चौधरीले बताइन्।
नगरपालिकाले आगामी दिनहरूमा पनि नियमित रुपमा बजार अनुगमनलाई निरन्तरता दिने शाखा अधिकृत बरालले जानकारी दिएकी छन्।