न्यूज डेस्क | जेठ १४, २०८२ मंगलबार

रौतहट। नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्वर्गीय पत्रकार फणिदेव महतको परिवारलाई आर्थिक सहयोग गरेको छ । चन्द्रनिगाहपुरमा आयोजित एक तालिम कार्यक्रममा उपस्थित पत्रकारहरुले आफुले प्राप्त गरेको भत्ता रकम संकलन गरी पत्रकार महासंघ रौतहट मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।



कार्यक्रममा सहभागी भएका पत्रकारहरूले पाउने भत्ताको रकम स्वर्गीय महतकी धर्मपत्नी सुनन्दा कार्कीलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघका अध्यक्ष संजय कार्की सहितका पदाधिकारीहरु र स्थानीय पत्रकारहरूको उपस्थितिमा स्वर्गीय महतको योगदानको स्मरण गर्दै उनको परिवारप्रति सम्मान व्यक्त गर्दै रकम प्रदान गरिएको थियो ।



नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले पत्रकार महतको निधनले जिल्लाको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि परिवारलाई आवश्यकताअनुसार निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाए । स्व. महत लामो समय देखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए र समाजप्रति उत्तरदायी पत्रकारिताको उदाहरण प्रस्तुत गरेका थिए ।



कार्यक्रमले पत्रकार समुदायमा पारस्परिक सहकार्य र सहानुभूतिको भावना झन बलियो बनाएको सहभागीहरूले बताएका छन् । स्वर्गीय पत्रकार महत ब्रेन ट्युमर रोगबाट लामो समयदेखि पिडित थिए, उनको दुईसाता अघि उपचारको क्रममा निधन भएको थियो ।