न्यूज डेस्क | जेठ १७, २०८२ शुक्रबार

रौतहट, चन्द्रपुर – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरी टोलमा स्थानीय किसानको कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले डिप बोरिङको कार्य औपचारिक रूपमा सुरु गरिएको छ।


चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले शुक्रबार एक कार्यक्रमका बीच पूजा-अर्चना गरी भूमिगत सिंचाई आयोजनाअन्तर्गत डिप बोरिङको बोर गर्ने कार्यको शुभारम्भ गरेका हुन्। करिब ३५ लाख रुपैयाँको लागतमा सुरु गरिएको यो परियोजना स्थानीय किसानलाई वर्षभर सिँचाइको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।



नगर प्रमुख काफ्लेले उद्घाटन समारोहमा बोल्दै कृषि क्षेत्रको विकास नगरको प्राथमिकता भएको बताउँदै सिंचाई सुविधाको पहुँच विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। “सिंचाई सुविधाको अभावमा धेरै किसानले समयमा खेती गर्न पाउँदैनथे, अब यो डिप बोरिङले उनीहरूलाई उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउनेछ,” उनले भने।

डिप बोरिङ परियोजनाबाट गैरी टोल र आसपासका क्षेत्रका किसानहरू लाभान्वित हुनेछन्। भूमिगत पानी प्रयोग गरी खेतबारीमा सहज सिंचाई व्यवस्था गरिने भएकाले तरकारी, धान, गहुँ तथा अन्य खाद्यबाली उत्पादनमा उल्लेखनीय वृद्धि हुने विश्वास गरिएको छ।



डिप बोरिङ कार्यको उद्घाटन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष बलराम राउत,वडा सदस्यहरू, स्थानीय किसान तथा समुदायका अग्रज व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वडा अध्यक्ष राउतले किसानलाई लक्षित गरी सिंचाई, सडक, मलखाद तथा प्रविधिको पहुँच विस्तार गर्ने योजनाहरूमा वडा कार्यालय प्रतिबद्ध रहेको जानकारी दिए।

स्थानीय किसानहरूमध्ये तीर्थ बहादुर दर्लामीले डिप बोरिङको कार्य सुरु हुने भएपछि आफूहरू निकै उत्साहित भएको बताए। “सालैपिच्छे पानीको जोहो गर्न हम्मेहम्मे पर्थ्यो। आकासे खेतीको भर पर्नु परेको थियो अब वर्षभरि खेतमा पानी पुग्ने भएपछि धेरै राहत मिल्नेछ,” उनले भने।

यस परियोजना भूमिगत सिंचाई आयोजनाको  आन्तरिक स्रोत तथा स्थानीय सरकारको समन्वयमा सञ्चालन गरिएको हो। प्राविधिक अनुगमनसहित निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न नगरपालिकाले निर्देशन पनि दिएको छ।