न्यूज डेस्क | जेठ १८, २०८२ शनिबार
रौतहट, चन्द्रनिगाहपुर – चन्द्रनिगाहपुर स्थित जन ज्योति बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्ष र स्नातकोत्तर चौथो तहको अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूका लागि एक भव्य बिदाइ तथा सम्मान समारोह सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथीहरू, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, तथा शिक्षाप्रेमीहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद देव प्रसाद तिमल्सिनाले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। सांसद तिमल्सिनाले आफ्नो मन्तव्यमा सामुदायिक क्याम्पसहरू देशका ग्रामीण तथा अर्ध शहरी क्षेत्रका लागि शिक्षा पहुँचको आधार भएको बताए। उनले भने, “सस्तो, सुलभ र गुणस्तरीय शिक्षाका लागि सामुदायिक क्याम्पसहरू अपरिहार्य छन्, र जन ज्योति क्याम्पस त्यसको उत्कृष्ट उदाहरण हो।”
कार्यक्रम स्ववियु सभापति नौसाद आलमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कार्की, प्राचार्य राजन श्रेष्ठ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, शिक्षक–विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सञ्जय कार्कीले सामुदायिक क्याम्पसप्रतिको समुदायको बढ्दो विश्वास र सहयोगप्रति आभार प्रकट गर्दै भने, “शिक्षा कुनै व्यापार होइन, यो समाज निर्माणको आधार हो। जन ज्योति क्याम्पसले सुरुवातदेखि नै समुदायका सबै वर्ग र तहलाई शिक्षा दिने उद्देश्यसहित काम गर्दै आएको छ। हामी विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यप्रति सचेत छौं र आगामी दिनमा अझै सुधारात्मक कार्यक्रम ल्याउनेछौं।”
प्राचार्य राजन श्रेष्ठले बिदाइ हुँदै गरेका विद्यार्थीहरूको सफलताको कामना गर्दै क्याम्पसको शिक्षण गुणस्तरमा गरिएको सुधार प्रयासबारे जानकारी गराए। उनले भने, “हामीले नियमित कक्षा सञ्चालन, समयमै परीक्षा, आन्तरिक मूल्याङ्कन, र शैक्षिक वातावरण सुधारमा निरन्तर ध्यान दिएका छौं। स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले देखाएको अनुशासन र समर्पणले सम्पूर्ण क्याम्पस परिवारलाई गर्व गराएको छ।”
नगर प्रमुख सञ्जय कुमार काफ्लेले नगरपालिकाको तर्फबाट शिक्षा क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै भने, “स्थानीय सरकार शिक्षा क्षेत्रसँग सहकार्यमा छ। जन ज्योति क्याम्पसजस्ता सामुदायिक शैक्षिक संस्थालाई थप सशक्त बनाउन हामी तयार छौं।”
कार्यक्रममा विभिन्न अतिथी वक्ताहरूले सामुदायिक क्याम्पसले स्थानीय स्तरमा शिक्षा प्रवर्द्धनमा खेलेको भूमिका, अवसर सिर्जनामा यसले पुर्याएको योगदान तथा विद्यार्थीको नेतृत्व विकासमा देखिएको सकारात्मक असरबारे मन्तव्य राखेका थिए।
समारोहमा बिदाइ हुँदै गरेका विद्यार्थीहरूलाई मायाको चिनो र फूलमालासहित सम्मान गरियो। साथै, केही प्रतिनिधि विद्यार्थीहरूले आफ्ना अनुभव सुनाउँदै क्याम्पसबाट पाएको मार्गदर्शनप्रति आभार व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा सभापति नौसाद आलमले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै स्ववियुले विद्यार्थीको हक, अधिकार र सहुलियतका लागि निरन्तर काम गरिरहने बताए।