न्यूज डेस्क | जेठ २३, २०८२ बिहिबार

रौतहट । "विश्व वातावरण दिवस" प्रत्येक वर्ष जुन ५ तारिखमा विश्वभरि मनाइन्छ । नेपालमा पनि वातावरण सचेतना र संरक्षणका विविध कार्यक्रमहरू आयोजना गरिन्छन् । तर, रौतहट जिल्लामा भने वातावरण दिवसको नाममा हुने कार्यक्रमहरू औपचारिकतामा सीमित हुँदै गएको देखिन्छ । "वृक्षारोपण दिवस"को रूपमा मात्र यो दिवस मनाउने परिपाटीले दीर्घकालीन वातावरणीय संरक्षणमा ठोस योगदान पुर्‍याउन सकेको छैन ।


रौतहट जिल्लाका विभिन्न स्थानहरूमा हरेक वर्ष वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिँदै आएको छ । स्थानीय निकाय, सरकारी कार्यालय, विद्यालय, सामाजिक संघसंस्था र समुदायको सहभागितामा बिरुवा रोप्ने कार्यक्रमहरू त भइरहेका छन्, तर ती बिरुवाको संरक्षण र हुर्काइमा भने आवश्यक ध्यान दिइएको छैन ।



डिभिजन वन कार्यालय, रौतहटको भूमिका यस सन्दर्भमा प्रश्नको घेरामा परेको छ । स्थानीयवासी तथा वातावरण संरक्षणमा सक्रिय संघसंस्थाहरूका अनुसार वन कार्यालयले रोपिएका बिरुवा र वृक्षारोपण कार्यक्रमहरूलाई दीर्घकालीन रुपमा हेर्नुका सट्टा, ब्यानर झुण्डयाएर एकदिने औपचारिकता पूरा गरेर आफ्नो जिम्मेवारी सकिएको ठान्ने प्रवृत्ति देखिएको छ ।



रौतहटको गुजरा, चन्द्रनिगाहपुर, गौर, मौलापुर लगायतका क्षेत्रमा पछिल्ला वर्षहरूमा वृक्षारोपण कार्यक्रमहरू भए पनि, ती बिरुवाहरू केही सातामै सुक्ने गरेका छन् । "बिरुवा रोपिए पनि त्यसको स्याहार-सुसार नहुँदा, ती बढ्नै सक्दैनन्," चन्द्रपुरस्थित तिलेश्वरनाथ  सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भुनेस्वर गुराे भन्छन्, "हामीले वन कार्यालयमा संरक्षणका लागि पहल गर्न आग्रह गरेपनि कुनै ठोस योजना वा अनुगमन देखिँदैन ।"



वन क्षेत्रको अतिक्रमण र फडानीमा समेत डिभिजन वन कार्यालय मौन बसेको आरोप स्थानीयवासीहरू लगाउँछन् । अतिक्रमित क्षेत्रहरूमा मात्रै देखावटी रूपमा वृक्षारोपण गर्दै आएको, तर त्यसपछिको जिम्मेवारी बेवास्ता गरेको जनगुनासो तीव्र बन्दै गएको छ ।

"वातावरण संरक्षण भनेको बिरुवा रोपेर सकिने कुरा होइन," अध्यक्ष गुरों भन्छन् ,"रोपिएको बिरुवा हुर्किएर रुख बनेर वातावरणलाई योगदान दिन सक्नुपर्छ । तर, संरक्षण नगरी केवल फोटो खिच्ने र प्रेस विज्ञप्ति निकाल्ने प्रवृत्तिले वातावरण दिवसको उद्देश्य नै गुमाइरहेको छ ।"

यस्तो अवस्थामा, वृक्षारोपण कार्यक्रमहरूलाई केवल ‘झारो टार्ने’ औपचारिक कार्य बनाउने होइन, त्यसलाई दीर्घकालीन वातावरणीय रणनीतिसँग जोड्न आवश्यक देखिन्छ । डिभिजन वन कार्यालय, स्थानीय तह, नागरिक समाज र समुदायले मिलेर संयुक्त रुपमा संरक्षण अभियानलाई प्राथमिकतामा राखे मात्र वातावरण दिवसको वास्तविक मर्म पूरा हुन सक्छ ।

अन्ततः, वातावरण दिवसको सार्थकता केवल एक दिनको बिरुवा रोपाइँमा होइन, त्यसको निरन्तर संरक्षण र व्यवस्थापनमा निर्भर रहने कुरा सबै सरोकारवालाले बुझेको र व्यवहारमा उतारेको खण्डमा मात्र वातावरण सुधारको अपेक्षा गर्न सकिन्छ।