न्यूज डेस्क | जेठ २६, २०८२ आइतबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको सर्प विष संकलन तथा उत्पादन केन्द्र स्थापनासम्बन्धी परियोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समावेश भई संघीय र प्रदेश सरकारको लागत सहभागितामा सञ्चालन हुने भनिएको उक्त परियोजनामा सरकारी रकम गैरकानुनी रूपमा निजी संस्थालाई उपलब्ध गराइएको आरोपमा मधेश सरकारका पूर्वमन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्कासहित प्रतिवादीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
उक्त परियोजनाअन्तर्गत ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल’ नामक गैरसरकारी संस्था र कम्पनीलाई लागत साझेदारी नभएको अवस्थामा पनि प्रदेश सरकारले भौतिक संरचना निर्माणका लागि सरकारी रकम उपलब्ध गराएको थियो ।
आयोगले यो कार्य प्रचलित कानुनको उल्लंघन भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा चलाएको हो । विशेष अदालतले २०८१ साल असार २५ गते आंशिक सफाइको फैसला सुनाएकोमा आयोगले उक्त फैसलाप्रति असहमति जनाउँदै २०८२ साल जेठ २१ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।