न्यूज डेस्क | जेठ २६, २०८२ आइतबार

रौतहटको चन्द्रनिगाहपुर देखि जयनगरसम्मको सडक खण्डमा मर्मतको नाममा गरिएको कालोपत्रे कार्यको गुणस्तरहिन भएको पाईएको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट शिवशक्ति निर्माण सेवाले करिब २० लाख रुपैयाँ बजेटमा खाल्डाखुल्डी मर्मतको जिम्मा पाए पनि कार्य मापदण्ड अनुरूप नभएको पाइएको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर सुरेश महतो स्वयं साइटमा रहँदा समेत निर्माण कम्पनीले खाल्डाखुल्डी मर्मतको क्रममा अत्यन्त न्यून मात्रामा अलकत्रा प्रयोग गरेको देखिएको छ ।


महतोका अनुसार, “यो सडक डिफेक्ट लायबिलिटी पिरियडमा परेको हो र मर्मतको क्रममा औसत ०.६ वर्ग मिटरमा मात्र अलकत्रा छरिएको छ ।”तर, स्थानीय स्रोतका अनुसार सडकमा मर्मतको नाममा लापरवाहीपूर्वक काम गरिएको छ । केही ठाउँमा सिर्फ धुलोमाथि अलकत्रा छर्किएको देखिन्छ, जुन चाँडै उप्किन सक्ने सम्भावना रहेको छ ।



आगामी आर्थिक वर्षमा सो सडक चार लेनको रुपमा पुनः निर्माण हुन लागेको अवस्थामा समेत अहिले मर्मतको काम गर्नुको कारण असारे बजेट फ्रिज हुन नदिनको लागि जबरजस्ती खर्च गर्न खोजिएको पबन उपाध्याय बताउछन्  । आवश्यक स्थानमा मात्र होइन, अनावश्यक स्थानहरूमा समेत कालोपत्रे गरिएको देखिएको छ । वर्षेनी मर्मत, तर नतिजा उस्तैयो सडकखण्ड पुर्व पश्चिम राजमार्गसँग जोडिएको हुनाले यातायातको चाप पनि अत्यधिक हुन्छ ।



तर वर्षेनी मर्मतका नाममा हुने कालोपत्रे कार्य टिकाउ नभएको, केही महिना नपुग्दै खाल्डाखुल्डी दोहोरिने क्रमले जनतालाई सास्ती दिइरहेको छ ।स्थानीयहरू र अधिकारकर्मीहरूले तत्काल निर्माण कम्पनी र सुपरिवेक्षण गर्ने इञ्जिनियरहरूको भूमिकाको छानबिन गर्न माग गरेका छन्।



यस्ता लापरवाहीपूर्ण कार्यप्रति जवाफदेही बन्नु पर्ने भन्दै सडक डिभिजन कार्यालयलाई सार्वजनिक स्पष्टीकरण दिनु पर्ने आवाज पनि उठ्न थालेको छ ।यस विषयमा सडक विभागको केन्द्रिय कार्यालय र स्थानीय प्रशासनले चासो लिई आवश्यक कदम चाल्ने हो भने मात्र आगामी दिनमा यस्ता गुणस्तरहीन निर्माण कार्य नियन्त्रणमा आउन सक्ने सरोकारवालाहरु बताउछन्  ।