न्यूज डेस्क | जेठ २९, २०८२ बुधबार

रौतहट,बृन्दावन नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ का क्षेत्रीय सभापति तथा बृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख रामस्नेही राय यादव गहिरो शोकमा परेका छन्। यादवका पिता ७८ वर्षीय विष्णु (बनइ) राय यादवको मंगलबार काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।


बुधबार दिवंगत यादवको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि विश्रामपुरस्थित नदी तटमा लगिएको थियो, जहाँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। दिवंगत यादव नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत थिए। उनी लामो समयदेखि सामाजिक एवं राजनीतिक जीवनमा सक्रिय रहँदै आएका थिए।



अन्तिम संस्कारको क्रममा नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले दिवंगत यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए। अत्यन्तै भावुक बनेका सांसद तिमल्सिनाले मृतक यादवको पार्थिव शरीरलाई काँधमा बोकेर आर्यघाटसम्म पुर्‍याएका थिए, जसले नेता र कार्यकर्ताबीचको भावनात्मक सम्बन्ध झल्काउँछ।

दिवंगत यादवप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका विभिन्न तह र तप्कामा रहेका नेताहरू, जिल्लाबासी, शुभेच्छुकहरू तथा परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो। श्रद्धाञ्जली कार्यक्रमको क्रममा नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले नेपाली कांग्रेस चन्द्रपुर नगर समितिको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।



नेपाली कांग्रेसले यो अपूरणीय क्षतिलाई पार्टी र समाजका लागि एक ठुलो क्षति भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको रौतहटका कांग्रेस नेता सुमन गौतमले बताए।