प्राइम खबर संबाददाता | बैशाख २८, २०७८ मंगलबार

रौतहट, आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन भक्तिसाथ मनाइँदैछ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा तथा तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने प्रचलन रहीआएको छ ।


प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा आमाको मुख हेर्ने पर्व मनाइन्छ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।



आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका काम सम्झने गर्दछन् ।



सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ ।



मातातीर्थ औँसीको अवसरमा चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

गएको वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो ।