प्राइम खबर संबाददाता | असार ३, २०८२ मंगलबार
रौतहटमा सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको माधवनारायण नगरपालिका ५ मिठुअवा स्थित कटहरिया टोलमा सोमबार आयोजित पार्टि प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय भन्दा बढी व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस माधवनारायण नगरपालिका ५ को वडा कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी, रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। उनीहरू नेकपा एकीकृत समाजवादी र नेकपा एमाले त्याग गरी कांग्रेसमा प्रवेश गरेको बताइएको छ।
नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता एबम् मधेश प्रदेश सभापति, पूर्व मन्त्री समेत रहेका प्रदेश सांसद कृष्ण प्रसाद यादवले उनीहरुलाई टिका, माला लगाएर पार्टी प्रवेश गराएका हुन्।
कांग्रेस मधेश प्रदेश सभापति यादवले पार्टीमा आएका नव प्रवेशीहरुलाई आगामी सफल कार्यकालको शुभकामना दिएका थिए।
सभापति यादवले प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेस निकै पुरानो इतिहास बोकेको ठूलो दल रहेकोले चाहेर पनि कसैले परास्त गर्न नसक्ने बताएका छन् ।
अरु दलको कुनै भविष्य नरहेको बताउँदै उनले कांग्रेस पार्टी मात्र देशको स्थायित्व दिन सक्ने भएको हुँदा सबैलाई कांग्रेसमा लाग्नुपर्ने धारणा राखेका थिए।
साबिक पार्टीको स्थानिय राजनीतिमा पकड राख्ने नबप्रबेशी नेताहरु कांग्रेसमा प्रवेश गरेकाले आगामी दिनको लागि मिठुअवा गाँउ सहित माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस पार्टी अझै मजबूत भएको नेपाली कांग्रेसका जिल्ला सचिब मिथिलेश मिश्राले बताएका छन्।
एउटै टोलको सयौं नेता कार्यकर्ताहरुले सामूहिक रूपमै कांग्रेसमा आएकाले आउँदो २०८४ को निर्वाचनमा माधवनारायण नगरपालिकामा कांग्रेसले राम्रो मत ल्याउने र बहुमत प्राप्त गर्ने नेता मिश्राले आकलन समेत गरेका छन् ।
कार्यक्रममा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सचिव मिथलेश मिश्रा लगाएतका वक्ताहरुले देशमा एकमात्र पार्टी नेपाली कांग्रेसले मात्र विकास गर्न सक्ने भन्दै कांग्रेसमा लाग्न सबैलाई आग्रह गरेका थिए । उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।