न्यूज डेस्क | असार ६, २०८२ शुक्रबार

रौतहट।  जिल्लाको माधवनारायण नगरपालिकाले आफ्नो १०औं नगरसभा भव्य रुपमा सम्पन्न गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।


नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै समग्र नगरको दिगो विकासलाई केन्द्रमा राखेर बजेट तयार गरिएको जानकारी दिए। उनका अनुसार बजेट संघीय तथा प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँट, समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानमार्फत सुनिश्चित गरिएको हो।



प्रमुख यादवले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटको प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पार्दै माधवनारायण नगरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाहरूलाई यथासम्भव उपयोग गर्दै विकासको गति तीव्र बनाइने प्रतिवद्धता जनाए।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, कर्मचारी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।