न्यूज डेस्क | असार ७, २०८२ शनिबार
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको ११ औं नगरसभा भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख कौशल्या देवीको अध्यक्षतामा सम्पन्न उक्त सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ६४ लाख ५२ हजार ४९७ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभाबाट निति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ।
नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।
राजस्व बाँडफाँटबाट प्राप्त रकम, संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, शसर्त अनुदान चालू र पुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, शसर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले बताएका छन् ।
शनिबार सम्पन्न नगरसभामा प्रमुख अतिथि पूर्व सचिव राम स्वरूप सिन्हा , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ता , उपप्रमुख मो. प्रवेज आलम, औरैया खानेपानीका अध्यक्ष किशोरी यादव, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, प्रहरी लगायतको सहभागितामा नगर अधिवेशन सम्पन्न भएको नगरपालिकाका लेखा अधिकृत मनोज ठाकुरले जानकारी दिएका छन् ।