प्राइम खबर संबाददाता | असार ७, २०८२ शनिबार
रौतहट जिल्लाको गढीमाई नगरपालिकाले आफ्नो १२ औं नगरसभा सम्पन्न गरेको छ। सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाको बजेट पारित गरिएको छ।
पारित बजेटमध्ये पुँजिगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार र चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार एक सय आठ रुपैया विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। नगर सभाले आगामी बजेटमा विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकताका साथ बजेटमा केन्द्रित गरिएको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादबले बताएका छन् ।
नगर प्रमुख यादवले आगामी वर्षमा नगरका विकास योजनाहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता समेत जनाउँदै सबै जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूलाई सहकार्यका लागि आग्रह गरेका छन् ।
उनले नगरवासीहरूको जीवनस्तर सुधार, बालबालिका तथा युवाहरूको क्षमता विकास, र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच विस्तारलाई र कृषिलाई प्रमुख प्राथमिकताका साथ कृषि उत्पादनलाई मुख्य लक्ष्यका रूपमा लिइएको स्पष्ट पारे। साथै, नगर प्रमुख यादवले योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरूलाई साथ र सहकार्यको आह्वान समेत गरेका छन् ।
शनिबार नगरपालिकाको सभाहलमा आयोजित नगर सभामा उपनगर प्रमुख स्मिता कुमारी यादव , १ देखी ९ नम्बर वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, नगर कार्यपालिका सदस्यहरु, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज, विभिन्न पार्टीका प्रतिनिधि लगाएत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।