न्यूज डेस्क | असार ९, २०८२ सोमबार

रौतहट। चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब २१ करोड ५९ लाख ५१ हजार ६ सय ४० रुपैयाँको बजेट विनियोजन गर्दै १५औं नगरसभा सम्पन्न गरेको छ।


नगर कार्यपालिकाको आयोजनामा चन्द्रनिगाहपुरमा आयोजित अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका पूर्व पर्यटन मन्त्री युवराज भट्टराई रहेका थिए। नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सञ्जय कुमार काफ्लेले अध्यक्षता गरेका थिए भने उपप्रमुख जयमाला कुमारी चौधरी विशेष अतिथिका रूपमा सहभागी थिइन्। उपप्रमुख चौधरीले नीति तथा कार्यक्रम वचन गरेर नगरपालिकाको भावी योजना बारे मन्तव्य राख्दै प्रकाश पारिन्। उक्त नगर सभामा अन्य विशिष्ट अतिथिहरूमा दशैं वडाका वडाध्यक्ष, जनप्रतिनिधिहरू, सरोकारवालाहरू, कर्मचारी, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरुकोे उल्लेख्य उपस्थिति रहेको थियो।



उक्त अधिवेशनमा नगर प्रमुख काफ्लेले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राखिएको बताए। “विकास, समृद्धि र सामाजिक न्यायलाई सन्तुलनमा राखेर बजेट निर्माण गरिएको छ,” उनले बताए।

बजेट सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री भट्टराईले चन्द्रपुर नगरपालिकाले क्षेत्रीय विकासको दृष्टिले उदाहरणीय कार्य गर्दै आएको प्रशंसा गर्दै प्रदेश र संघ सरकारसँग सहकार्य गरेर नगरका योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।



नगर उपप्रमुख चौधरीले महिला, बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्ग लक्षित कार्यक्रम र बजेटको सुनिश्चितता गरिएको उल्लेख गर्दै कार्यान्वयनमा नागरिक सहभागिता र पारदर्शिता सुनिश्चित गरिने बताइन्।

कार्यक्रममा सभाध्यक्ष र वडाध्यक्षहरूले पनि आ–आफ्नो धारणा राख्दै स्थानीय तहको सशक्तिकरण, स्रोत साधनको समुचित व्यवस्थापन तथा सेवा प्रवाहमा अझ सुधार गर्नुपर्नेमा जोड दिएका थिए।

नगरपालिकाले यसअघिका वर्षहरूमा देखिएको कमजोरी सच्याउँदै आगामी वर्षका लागि व्यवहारिक योजना र लक्ष्यका आधारमा बजेट तयार पारिएको जनाएको छ।

नगर सभा समापनपछि नगर प्रमुख, उपप्रमुख तथा अतिथिहरूले संयुक्त रूपमा बजेट दस्तावेज सार्वजनिक गरेका थिए। कार्यक्रममा उपस्थित सबैलाई सम्मानस्वरूप दोसल्ला ओढाएर स्वागत गरिएको थियो।