न्यूज डेस्क | असार १०, २०८२ मंगलबार
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन्।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै यादवले आफूले पार्टीको संसदीय दललाई सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिइसकेको बताए। उनका अनुसार, “सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेको छ। यस्तो सरकारलाई समर्थन गर्नु संविधान, संघीयता र जनताको विश्वासमाथि गद्दारी हुनेछ।”
उनले सत्तामा रहेका एमाले–कांग्रेस गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थनप्रति पछुतो लागेको बताए। अध्यक्ष यादवको आरोप छ, “वर्तमान सरकार जनताको समस्याप्रति गम्भीर छैन, सत्तामा टिकिरहने खेल मात्र भइरहेको छ।”
यादवका अनुसार सरकारको मुख्य ध्यान सत्ता जोगाउने, पद बाँडफाँट गर्ने, प्रशासनलाई मनपरी चलाउने र जनताको नाममा बजेटको दुरुपयोग गर्नेमा केन्द्रित छ।