न्यूज डेस्क | असार १०, २०८२ मंगलबार
रौतहट जिल्लाको परोहा नगरपालिकाले नवौं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि समावेशी, दिगो र उत्पादनमुखी विकास अवधारणालाई मूल आधार मानेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। ‘कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारः समावेशी दिगो विकास परोहा नगरपालिकाको मूल आधार’ भन्ने दृष्टिकोणलाई आत्मसात् गर्दै नगरपालिकाले सामाजिक न्याय, आर्थिक समावेशिता र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहमा केन्द्रित महत्वाकांक्षी योजना अघि सारेको हो।
नगरपालिकाको लौकाहा स्थित निर्माणाधिन कार्यपालिकाको प्रशासकीय भवनमा मंगलबार आयोजित ९ औं नगरसभामा नगरप्रमुख एवं सभाध्यक्ष समेत रहेका शेख वकिलले अगामी आर्थीक बर्षको नीति तथा कार्यक्रमको साथ आर्थीक आय व्यय सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख वकिलले प्रदेशमै परोहा नगरपालिका पूर्ण रुपमा व्यवस्थित रहेको बताएका छन् ।
नगरपालिकाले अगामी आर्थीक बर्ष २०८२ /२०८३ का लागी संघ, प्रदेश र आन्तरिक आय गरेर ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाको बजेट प्रस्तुत गरेको छ ।
नगरप्रमुख शेख वकिलले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको दिगो विकासका लागि विविध चुनौतीका बाबजुद जनप्रतिनिधिहरुको उच्च प्रतिबद्धता, समन्वय र सहकार्यका माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत, सडक र सामाजिक सुरक्षामा उल्लेखनीय प्रगति हासिल गरिएको बताए।
नगरपालिकाले नगरवासीको स्वास्थ्य पहुँच वृद्धि गर्न निःशुल्क बेड सेवा, स्तन तथा पाठेघर क्यान्सरको निःशुल्क परीक्षण, भेन्टिलेटर तथा आईसीयू सेवायुक्त अस्पताल, रेडक्रसमार्फत रक्त सञ्चार सेवा, पेलियेटिभ केयर, मातृ तथा शिशु स्वास्थ्य सेवा जस्ता कार्यक्रम अगाडि सारेको छ।
शिक्षा क्षेत्रमा ‘मेयर केयर कार्यक्रम’ अन्तर्गत पोशाक, छात्रवृत्ति, शैक्षिक सामग्री तथा प्रविधियुक्त शिक्षण विधिको विस्तार, विद्यालय स्तरोन्नति, शैक्षिक गुणस्तर सुधार र विद्यालयभित्र शुद्ध खानेपानी, शौचालय तथा सेनेटरी प्याडको व्यवस्था गरिएको छ। अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच तथा सीपमूलक तालिमद्वारा महिला सशक्तिकरण कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।
कृषिमा सिंचाइ, कृषि विद्युतीकरण, ट्युवेल जडान, बिउबीजन वितरण, मूल्य श्रृङ्खला व्यवस्थापन, पशु सेवा तथा खोप कार्यक्रम, बाझोपन निवारण, आयमूलक कृषि तथा व्यवसायिक खेतीलाई प्राथमिकता दिइएको छ। युवालाई कृषिमा आकर्षित गर्न आधुनिक कृषि प्रणाली र बजारीकरणमा जोड दिइएको छ।
पूर्वाधारको क्षेत्रमा शैक्षिक, स्वास्थ्य, सडक, खानेपानी, विद्युत तथा फोहोरमैला व्यवस्थापनमा बल दिइएको छ। जलवायु परिवर्तन न्यूनीकरण तथा वातावरण संरक्षणका लागि ‘एक घर, एक विरुवा’ अभियान, वृक्षारोपण, ढल व्यवस्थापन र ‘हरित नगर, स्वच्छ नगर’ अवधारणालाई सशक्त रूपमा कार्यान्वयन गरिने छ।
श्रम तथा रोजगारी प्रवर्द्धनका लागि कार्यस्थलमा आधारित तालिम, रोजगार सेवा केन्द्रको सुदृढीकरण, स्थानीय श्रमिक क्षमता अभिवृद्धि तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न साझा लगानी नीतिलाई अंगिकार गरिएको छ।
सूचना प्रविधिमा आधारित सुशासन प्रवर्द्धन गर्न ई गर्भमेन्स प्रणाली, डिजिटल फाइल व्यवस्थापन, वेभपोर्टल र मोबाइल एप अद्यावधिक, फाईल सरबर स्थापनादेखि सेवा प्रवाहको मापदण्ड निर्धारण गरी जनमुखी प्रशासन सुदृढ गरिने बताईएको छ।
न्यायिक सेवा प्रवाह, मेलमिलाप केन्द्र स्थापना, कर प्रणालीलाई करदातामैत्री बनाउने, सहकारी एकीकरण र निगरानी, भगिनी नगर सम्बन्ध स्थापना जस्ता संस्थागत सुधार कार्यक्रमको पनि स्पष्ट नीति लिएको छ।
परोहा नगरपालिकाले विविध क्षेत्रीय, जातीय, भाषिक र लैङ्गिक पृष्ठभूमिका समुदायहरुलाई सामाजिक न्यायसहित विकासको मूलधारमा समेट्ने प्रतिबद्धता जनाउँदै बजेट र कार्यक्रम प्रस्तुत गरेको छ। संविधान प्रदत्त अधिकार अन्तर्गत स्थानीय स्वशासन सुदृढ गर्दै मधेश प्रदेशभित्र नमुना नगरको रुपमा परोहालाई विकास गर्न बहुआयामिक नीति तथा कार्यक्रमको कार्यान्वयनमा नगरपालिका अग्रसर देखिएको छ।
“सभ्य र समृद्ध परोहाः हाम्रो परोहा राम्रो परोहा” भन्ने नाराका साथ परोहा नगरपालिकाले समृद्धि, आत्मनिर्भरता र समाजवाद उन्मुख स्थानीय अर्थतन्त्र निर्माणका लागि चालु आर्थिक वर्षको बजेटलाई विकासको ऐतिहासिक अवसरको रुपमा अघि बढाएको छ।