न्यूज डेस्क | असार १३, २०८२ शुक्रबार
रौतहट, पर्यटन विकास कार्यालय रौतहटका निमित्त कार्यालय प्रमुख राजेश काफ्लेमाथि कार्यालयको औपचारिक कामकाजलाई झोलामै सीमित गरी चलाएको आरोप तीव्ररूपमा उठिरहेको छ। यसबीच, उनले सामाजिक सञ्जालमा पोष्ट गरेको एक तस्बिरले उक्त आरोपलाई थप पुष्टि गरेको जस्तो देखिएको छ। उक्त तस्बिरमा काफ्ले घरजस्तो देखिने स्थानमा, लुज लुगा लगाएर, सोफामा बस्दै फाइलहरू पल्टाउँदै कार्यादेश लेखिरहेको देखिन्छ। उनको छेउमा मोबाइल फोन, पानीको बोतल, टेबलमा सरकारी छाप, कागजात र "नेपाल सरकार" अंकित फाइलहरू खुलेआम देख्न सकिन्छ। तस्वीरमा देखिएको कागजातमा अघिल्लो मिति राखेर असार महिनामा कार्यादेश तयार पारिएको स्पष्ट संकेत मिलेको छ।
चन्द्रनिगाहपुरमै चलिरहेको ‘गौर’को कार्यालय? पर्यटन विकास कार्यालय गौरमा रहेको भए तापनि काफ्ले अधिकांश समय चन्द्रनिगाहपुरमै बसेर काम गरिरहेको आरोप स्थानीयहरूले लगाउँदै आएका छन्। कार्यालयको नियमित काम काज, बैठक, योजना तयार पार्ने कार्यहरु समेत गौरस्थित कार्यालयमा नभई अन्यत्रै भइरहेका छन्। स्थानीय स्रोत भन्छ – "उहाँ चन्द्रनिगाहपुरमा एक निजी आवासमा बसेर फाइलमै सरकारी निर्णय गरिरहनुहुन्छ।
"‘झोलामा कार्यालय’ र ‘भ्रष्टाचारको अखडा’ राजेश काफ्लेमाथि "झोलामा कार्यालय बोकेर हिड्ने" कर्मचारीका रूपमा आरोप लाग्दै आएको छ। कार्यालयमा उपस्थिति कम भएको, फाइल सार्वजनिक ठाउँमा लिएर निर्णय लिने, पुराना मिति हालेर कार्यादेश बनाउने, र पदको दुरुपयोग गर्दै कार्यालयलाई भ्रष्टाचारको अखडा बनाएको गम्भीर आरोपहरू सार्वजनिक हुँदै आएका छन्। सरकारी प्रक्रिया र ऐन कानुन अनुसार कार्यालयको काम, निर्णय र कार्यादेशहरू तोकिएको स्थान र समयमा सीमित रहनुपर्ने कानुनी प्रावधान छ। तर तस्बिरबाट स्पष्ट हुन्छ कि काफ्लेले ती कानुनी सीमाना उल्लंघन गर्दै आफ्नो व्यक्तिगत स्थानबाटै सरकारी निर्णय गर्दै आएका छन्।
स्थानीय माग– छानबिन गरियोस् यो विषयले स्थानीय तहमा निकै चर्चा पाएको छ। सामाजिक सञ्जालमा पोष्ट भएको तस्बिरले व्यापक आलोचना ल्याएको छ। स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूले पर्यटन मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग तत्काल छानबिनको माग गरेका छन्।
यस बिषयमा कार्यालय प्रमुखसँग बुझ्न खोज्दा उनको फोन उठेन । यद्धपी सरकारी सेवा नागरिकको हितका लागि हो, तर निजी घरबाट कार्यालय चलाउने, निर्णय गर्ने अभ्यासले संस्थागत अनुशासन र पारदर्शितामा गम्भीर प्रश्न खडा गरेको छ। अब जिम्मेवार निकायहरूले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु आवश्यक रहेको सरोकारवालाहरु बताउछन् ।
तस्बीर सामाग्रीः कार्यालयका नि.प्रमुख राजेश काफ्लेको फेसबुकबाट,