न्यूज डेस्क | असार ११, २०८२ बुधबार
रौतहटको गुजरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ ८३ का लागि ५० करोड ४ लाख १८ हजार ३ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १२ औं नगरसभामार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
नगरप्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा सम्पन्न सभामा उपप्रमुख रत्ना लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् भने प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले बजेट वक्तव्य वाचन गरेका थिए।
नगरपालिकाले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ। नगर कार्यपालिकाका अनुसार प्रस्तुत बजेट जनताको आवश्यकता, सुझाव तथा स्थानीय स्रोतको यथोचित उपयोगका आधारमा तयार पारिएको हो।
नगर प्रमुख चौधरीले सभामा सम्बोधन गर्दै भने, “नगरवासीको चाहना, आवश्यकता र विकासका प्राथमिकताहरूको आधारमा योजनाहरू छनोट गरिएको छ। बजेट कार्यान्वयन प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज र आम जनताको सहयोग अपरिहार्य छ।”
उपप्रमुख लामाले नीति तथा कार्यक्रममा समेटिएका योजनाहरू समावेशी, दिगो तथा दीर्घकालीन विकासलाई केन्द्रमा राखेर तयार पारिएको बताउँदै सामाजिक न्याय, महिला सशक्तीकरण, शिक्षा र स्वास्थ्य पहुँचमा सुधार, कृषि उत्पादन वृद्धिजस्ता विषयवस्तुलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिन्।
बजेटमा विद्यालय भवन निर्माण, स्वास्थ्य संस्थाको स्तरोन्नति, कृषकलाई अनुदान तथा तालिम कार्यक्रम, सडक विस्तार, खानेपानी तथा सरसफाइ, सूचना प्रविधिको प्रवर्धन, सहकारी र कृषि क्षेत्रको सुदृढीकरण, युवा लक्षित उद्यमशिलता कार्यक्रम तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा कार्यक्रमलाई समेत समेटिएको छ।
नगरपालिकाले आगामी वर्षमा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र जनमुखी बनाउँदै ‘सशक्त स्थानीय सरकार, समृद्ध नगर’ को अवधारणा कार्यान्वयनमा जोड दिने बताएको छ।
नगरसभा विभिन्न वडाबाट आएका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सरोकारवालाहरूको सहभागितामा सम्पन्न भएको थियो।