न्यूज डेस्क | असार ११, २०८२ बुधबार
रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनको लागि आगामी साउन १७ गते हुने निर्वाचनलाई लिएर अहिले संघ भित्र सरगर्मी बढेको छ। संघको नेतृत्वका लागि दुई चर्चित अनुहारहरू — वर्तमान अध्यक्ष उदय नारायण सापकोटा र कार्यकारी सदस्य अनन्त अधिकारी —बीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
अध्यक्ष पदका लागि दुवै आकांक्षीले अहिले उद्योगी–व्यवसायी माझ सक्रियता बढाउँदै मतदाताको ध्यान आकर्षित गर्ने प्रयास गरिरहेका छन्। संघको कार्यालय अगाडि नै बेला बेलामा फेसबुक लाइभमार्फत दुबैजनाले आफ्ना विचार, योजनाहरू र विगतको योगदानका बारेमा जनतालाई जानकारी गराउँदै आएका छन्। सामाजिक सञ्जालको प्रयोगमार्फत उनीहरूले आफू संघको हितमा कति सक्रिय छन् भन्ने कुरालाई जनसमक्ष प्रष्ट्याउने कोशिस गरिरहेका छन्।
वर्तमान अध्यक्ष सापकोटा अघिल्लो कार्यकालमा किस्ताबन्दी सहमतिका आधारमा अध्यक्ष पद सम्हालेका थिए। अब भने उनले व्यवसायीहरूको मतबाट प्रत्यक्ष जनादेश लिएर नेतृत्वमा पुग्ने अभिलाषा व्यक्त गर्दै आएका छन्। उनले संघलाई व्यवस्थित बनाउँदै व्यवसायीको हक–हितमा काम गरेको दाबी गर्दै आफ्नो अनुभव, सहिष्णुता र संस्थागत स्थायित्वलाई प्राथमिकतामा राखेर पुनः नेतृत्वमा आउन चाहेको स्पष्ट संकेत दिएका छन्।
उता, कार्यकारी सदस्य अनन्त अधिकारी भने फ्रेश मेन्डेड लिएर संघको नेतृत्वमा आउने तयारीमा छन्। उनले नयाँ सोच, नयाँ दिशा र युवाशक्तिलाई जोडेर संघको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिकारीले संघलाई आधुनिक, पारदर्शी र सबै व्यवसायीको साझा मञ्च बनाउने दृष्टिकोणसहित आफूलाई अब्बल सावित गर्ने अभियान थालेका छन्।
संघ भित्रको आन्तरिक लोकतान्त्रिक अभ्यास, पारदर्शी चुनाव प्रक्रिया र व्यवसायी समुदायको एकता सुदृढ बनाउने सन्दर्भमा यो निर्वाचन महत्वपूर्ण हुने देखिएको छ। व्यवसायीहरू पनि अब नेतृत्वका उम्मेदवारहरूको योजना, दृष्टिकोण र गत कार्यकालको मूल्याङ्कनको आधारमा निर्णय गर्ने मनस्थितिमा पुगेका छन्।
संघको निर्वाचनले व्यवसायीहरूको साझा हितमा काम गर्न सक्ने दक्ष नेतृत्व चयन गर्ने अवसर मात्र नभई आगामी दिनमा चन्द्रपुर नगर क्षेत्रको व्यापारिक वातावरण, लगानीमैत्री नीति र संस्थागत पहिचानलाई समेत प्रभाव पार्नेछ। अब हेर्न बाँकी छ — यो निर्वाचनबाट व्यवसायी समाजको विश्वास कसले जित्नेछः अनुभवी सापकोटा कि उदीयमान अधिकारी ?