न्यूज डेस्क | असार १२, २०८२ बिहिबार
रौतहट, — चन्द्रपुर नगरपालिकाले आन्तरिक आयको स्रोतहरू बन्दोबस्ती गर्न आह्वान गरेको ठेक्का सम्बन्धी सूचनामा गम्भीर त्रुटि भेटिएपछि सूचना संशोधन गरिएको छ। नगरपालिका कार्यालयले २०८२ साल असार ९ गतेको मध्यान्ह दैनिकमा प्रकाशित गरिएको सूचना संशोधन गर्दै असार ११ गते पुनः सूचना जारी गरेको हो।
संशोधित सूचनामा उल्लेख गरिएको अनुसार, मूल सूचनामा कर तिर्ने प्रमाणपत्रको विवरण त्रुटिपूर्णरूपमा प्रकाशित भएको पाइएको छ। जसअनुसार कर तिर्ने प्रमाणपत्र संलग्न गर्ने मिति र प्रक्रिया प्रष्ट नभएको भन्दै त्यसको स्पष्टता दिनका लागि संशोधन गरिनु परेको नगरपालिकाले जनाएको छ।
सूचना चन्द्रपुर नगरपालिकाको राजस्व शाखाबाट तयार पारिएको हो। राजस्व प्रमुखको हस्ताक्षरसहितको संशोधित सूचनामा आह्वान गरिएका ठेक्काको प्रक्रिया पूर्ववत् रूपमा नै अघि बढ्ने र आवेदकले अद्यावधिक सूचना हेरेर आवश्यक कागजातहरू बुझाउन अनुरोध गरिएको छ।
ईन्जिनियर भरत प्रसाद श्रीवास्तवको निर्देशनमा प्रकाशित उक्त सूचनामा बोलपत्र प्रक्रियाको पारदर्शिता कायम गर्न सूचना स्पष्ट पारिएको जनाइएको छ। नगरपालिका प्रशासनले सेटिङको आशंकासहित भएको पुरानो सूचनालाई नै प्राथमिकता नदिइ पुनः प्रक्रिया संशोधन गर्नु आफैँमा सकारात्मक कदम भएको स्थानीय व्यवसायीहरूले बताएका छन्।
यस घटनाले नगरपालिकाको सूचना व्यवस्थापन प्रणालीमा अझ बढी संवेदनशीलता र सतर्कता अपनाउनु पर्ने देखिएको छ। नियमित सूचना प्रकाशनमा यस्ता त्रुटिहरूले व्यवसायी र नगरवासी दुवैमा अन्योलता निम्त्याउने भएकाले यस्ता गल्तीबाट सचेत हुन आवश्यक देखिन्छ।
नगरपालिकाले आगामी दिनमा सूचना प्रकाशन गर्दा थप ध्यान दिन र सूचना सार्वजनिक गर्नुअघि प्राविधिक र प्रशासनिक समन्वयलाई प्राथमिकता दिनुपर्ने स्थानीय नागरिक समाजको भनाइ छ।