न्यूज डेस्क | असार १३, २०८२ शुक्रबार

रौतहट। वृन्दावन नगरपालिकाको नगरसभा अदालतको आदेशमार्फत स्थगित गराएको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीले कडा आपत्ति जनाउँदै उपप्रमुख संगीता देवी राममाथि गम्भीर आरोपहरू लगाएको छ ।नगर कमिटीका अध्यक्ष सुरेन्द्र प्रसाद पटेल पत्रकारहरूसँगको कुराकानीमा उपमेयर राम विपक्षी दलको इसारामा चल्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रहार गरेको आरोप लगाए ।


अध्यक्ष पटेलका अनुसार, मेयर विनोद प्रसाद कुर्मी र उपमेयर संगीता राम दुवै जनाले नेकपा एसको तर्फबाट चुनाव जितेका भए पनि उपमेयर रामले व्यक्तिगत स्वार्थ र बाह्य प्रभावका कारण पार्टीको नीतिविपरित काम गर्दै आएको स्पष्ट देखिएको छ। उनले भने, “नगरसभा जस्तो लोकतान्त्रिक र विकाससँग प्रत्यक्ष सरोकार राख्ने प्रक्रिया अदालतको सहारामा स्थगित गर्नु पार्टीको सिद्धान्त र जनताको अपेक्षामाथिको गम्भीर अपमान हो ।



यो आचरणले न केवल पार्टी भित्र द्विविधा सिर्जना गर्छ, बरु सम्पूर्ण नगरवासीको विकास अधिकारमाथि हस्तक्षेप पनि हो ।”पटेलले उपमेयरको कदमलाई “अराजक र आत्मकेन्द्रित“ कार्य शैलीको परिणाम भनेका छन् । “यदि उपमेयरलाई कुनै असहमति थियो भने पार्टी भित्रै छलफल गरेर समाधान खोजिनुपथ्र्यो। तर, प्रक्रिया नै रोकेर अदालत धाउने शैली अपारदर्शी र जनविरोधी हो,” उनले थपे।

नेकपा एस वृन्दावन नगर कमिटीले जारी गरेको वक्तव्यमा भनिएको छ, “हजुरलाई चित्त नबुझेका विषयहरू खुलस्त गरी जनतालाई जानकारी गराउनु पथ्र्यो। तर, नगरपालिका सञ्चालनको मूल बैठक नै अवरुद्ध गर्ने प्रयासलाई हामी स्वीकार गर्न सक्दैनौँ ।”नगर कमिटीका अनुसार, उपमेयर रामको व्यवहारले नगरपालिका भित्रको समन्वय तहस(नहस भएको छ र यसले समग्र विकास योजनाहरू रोकिएको छ । उनीहरूको आरोप अनुसार अब धेरै योजनाहरू प्रभावित हुनेछन् र यसको प्रत्यक्ष असर
नगरवासी जनतामाथि पर्नेछ ।



यसै क्रममा अध्यक्ष पटेलले उपमेयर रामको श्रीमान अरुण राममाथि पनि आङ्गुल उठाउँदै भने, “अरुण राम पहिले नेकपा एसमै थिए, तर अहिले एमाले प्रवेश गरेपछि उपमेयर राममाथि बाह्य दबाब र राजनीतिक प्रभाव बलियो हुँदै गएको छ । यही कारणले उनले पार्टी विरोधी र जनविरोधी गतिविधिमा हात हालेकी छन् । ”समाचार लेख्ने क्रममा उपमेयर संगीता रामसँग प्रतिक्रिया लिन खोज्दा वहाँलाई पटक पटक फोन गर्दा उठाउन सकेन ।

यो घटनाले वृन्दावन नगरपालिकामा राजनीतिक असमझदारी झनै चुलिएको संकेत देखिएको छ । नगर सभा जस्तो महत्वपूर्ण लोकतान्त्रिक प्रक्रिया स्थगित हुनु नगरको समग्र विकास यात्राका लागि चिन्ताको विषय बनेको छ । अब नगरवासी जनताले राजनीतिक नेताहरूको उत्तरदायित्वपूर्ण भूमिका र आपसी समन्वयको खाँचो झन् तीव्र रूपमा महसुस गरिरहेका छन् ।