न्यूज डेस्क | असार १४, २०८२ शनिबार

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताएकी छन् ।


शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको बताइन् ।



पूर्वराष्ट्रपति भण्डारीले फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको बताइन् । अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको उहाँकाे भनाइ छ । यसमा आफूले गर्व महशुस गरेको उनले जिकिर गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताइन् । राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने उनकाे भनाइ छ ।