न्यूज डेस्क | असार २३, २०८२ सोमबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुरमा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत एकदिने प्रविधि सामग्री हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।


चन्द्रपुर नगरपालिका लघुउद्यम विकास शाखाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा डल कुशन बनाउने एड्भान्स तालिम र सिलाई कटाईको एडभान्स लेभल टु तालिममा सहभागी उद्यमीहरुलाई आधुनिक प्रविधिसहितका सामग्री वितरण गरिएको हो।



कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सञ्जय कुमार काफ्ले थिए भने उपप्रमुख जयमाला कुमारी चौधरी र वडा नं. ८ का वडाध्यक्ष जितेन्द्र कुमार चौधरी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमका क्रममा प्रशिक्षार्थीहरुलाई आधुनिक सिलाई मेशिन, इन्टरलक मेशिन, च्याउ खेतीका लागि आवश्यक उपकरण लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो। लघुउद्यमलाई आत्मनिर्भरताको आधार बनाउने उद्देश्यसहित आयोजना गरिएको तालिमले महिलाहरूलाई सिपमूलक सीप सिकाएर स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास नगर प्रमुख काफ्लेले व्यक्त गरे।



कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेको प्रमाणस्वरूप प्रमाणपत्र समेत प्रदान गरिएको थियो। प्रशिक्षार्थीहरुले प्राप्त सामग्री र तालिमबाट व्यवसायिक जीवनको सुरुवात गर्न उत्साह व्यक्त गरेका थिए।

चन्द्रपुर नगरपालिकाको यस पहललाई सहभागीहरुले स्वागत गरेका छन् भने यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा स्थानीय जनताको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने विश्वास गरिएको तालिमको आयोजक संस्था चन्द्रपुर नगरपालिका लघु उद्यम विकास शाखाकी संयोजक मिश्रा कार्कीले बताएकी छन्।